शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

बाली (इन्डोनेसिया)- विश्वका वाणिज्य मन्त्रीहरुको अन्तर्राष्टिय सम्मेलनको औपचारिक उद्‌घाटन इन्डोनेसियाको बालीमा सम्पन्न भएको छ ।

स्थानीय नुसा डुआ अन्तर्राष्टिय सम्मेलन केन्द्रमा आयोजित सम्मेलनको इण्डोनेशियाका राष्ट्रपति सुशिलो बांगबांग युधियोनोलो भव्य समारोहबीच उद्घाटन गर्नुभयो । उद्घाटन सम्बोधन गर्दै राष्टपति बांगबांगले सौविध्य मुलुकहरुले अति कम विकसित मुलुकहरुलाई व्यापारमा सहजीकरणको बाटो खोलिदिनुपर्ने बताउनु भयो ।

उहाँले दोहा सम्मेलनले उठाएका भन्सार तथा कोटारहित बजार पहुँच र सहुलियतपूर्ण उत्पतिको नियम सरलीकृत गर्ने प्रतिवद्धता समीक्षा गर्न आग्रह गनुभयो ।

shankar-ind

अति कम विकसित मुलुकका प्रतिनिधिहरुले विकासशील देशहरुले निर्यातलाई सहयोग पुग्ने किसिमको सरल, सहज र सहुलियतपूर्ण सुविधाको माग गरेका थिए । सम्मेलनसंगै विकसित, विकासशील र अति कम विकसित मुलुकहरुबीच आगामी रणनीति तय गर्न साईड लाइनमा औपचारिक , अनौपचारिक छलफल र बैठक भइरहेका छन् । नेपालले पनि यस्ता वैठकहरुमा आफ्नो सक्रिय उपस्थिति जनाइरहेको छ ।

नेपालबाट अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल यस खालका वैठकहरुमा व्यस्त छ । मन्त्री कोइराला नेतृत्वको टोलीमा वाणिज्य सचिव माधवप्रसाद रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव सूर्य सिलवाल, संयुक्त राष्टसंघका लागि नेपालको स्थायी नियोग प्रतिनिधि शंकर बैरागी, डब्लुटीओ हेर्ने सहसचिव तोयनारायण ज्ञवाली, भन्सार विभागका उपनिर्देशक दामोदर रेग्मीलगायत हुनुहुन्छ ।

नेपाल सन् २००४ मा १४७ औं सदस्य राष्टको रुपमा डब्लुटीओमा प्रवेश गरेको थियो । अहिले डब्लुटीओको सदस्य संख्या १५९ पुगेको छ । सम्मेलन बाली घोषणापत्र जारी गर्दै मंसिर २१ मा सकिने छ ।

 

 

तपाईको प्रतिक्रिया