शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बेनी – म्याग्दीको दानाका एक जना पूर्व बेलायती गोर्खा सैनिकले आफूले पेन्सन वापत प्राप्त गर्ने एक महिनाको रकम सामुदायिक विद्यालयलाई सहयोग गरेका छन् ।

दाना गाविस ३ का कमल पुर्जाले बेलायत सरकारले पेन्सन वापत दिने एक महिनाको रकम वार्षिक दुई वटा सामुदायिक विद्यालयलाई उपलब्ध गराएका हुन् । शारिरीक रुपमा अपांगता भएका पुर्जाले हालसम्म म्याग्दीका ७ वटा विद्यालयलाई सहयोग गरिसक्नुभएको छ ।

पेन्सन वापत बेलायतमा प्राप्त गर्ने रकम बचत गरेर सामुदायिक विद्यालयलाई उपलब्ध गराएका पुर्जाले बताउनुभयो । दरवाङको जनप्रिय उच्च मावि, भुरुङ तातोपानीको सर्वोदय उच्च मावि, सदरमुकामको बेनी सामुदायिक उच्च मावि, बिमको किसानी उच्च मावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई एक/एक लाख रुपैया नगद सहयोग गर्नुभएका पुर्जाले दानाको ज्ञानप्रकाश उच्च मा. वि. लाई २ लाख २० हजार १८० रुपैया उपलब्ध गराउनुभएको छ ।
SG_Myagdi Mony Donation

दसै मनाउने क्रममा हालै जन्मथलो आउनुभएका पुर्जाले ज्ञानप्रकाश उच्च मावि र किसानी उच्च माविलाई एक/एक लाख रुपैया उपलब्ध गराउनुभएको थियो भने दानाको काभ्रेमा रहेको सरस्वती प्रा. बि. लाई आगामी वर्ष एक लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ । ग्रामिण क्षेत्रका विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि अन्य खर्च कटौती गरेर एक महिनाको पेन्सन बचत गरि सामुदायिक विद्यालयलाई उपलब्ध गराएको पुर्जाको भनाई छ ।

तीन वर्ष अघिदेखि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आउनुभएका पुर्जाले जिल्लाका सबै सामुदायिक विद्यालयलाई सहयोग गर्ने योजना रहेको बताउनुभयो । सन १९८९ मा गोर्खा सैनीकमा भर्ति भएका पुर्जा सन २००६ मा सेवा निवृत हुनुभएको थियो । सैनिक सेवामा प्रवेश गरेको ३ वर्षमै ढाडमा समस्या देखिएपछि उहाँ अहिलेपनि बैशाखीको साहराले हिँडडुल गर्नुहुन्छ ।

रोजगारीको सिलसिलामा बिदेशमा रहँदा बिरामी भएपछि दुखको अनुभव सँगालेका पुर्जाले बेलायतमा पनि प्रवासी नेपालीलाई दुख बिमार हुँदा सहयोग गर्ने उद्देश्यले मद्दत समुह नामको संस्था स्थापना गर्नुभएको छ । शारिरीक रुपमा अशक्त भएपनि पुर्जाले दुखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भुमिका निभाउँदै आउनुभएका म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका उपाध्यक्ष दल जुक्जालीले बताउनुभयो ।

आफ्नो जन्मगाउँमा शिक्षा, स्वास्थ्य र विकासका लागि सहयोग भित्र्याउन फ़्रेण्डली ब्रदर्श, दाना सेरोफेरो युके, मोना लगायतका संस्थामा पनि आवद्ध रहेका पुर्जा अध्यक्ष रहेको मद्दत समुह बेलायतलाई गत वर्ष त्यहाँको सरकारले क्वीन अवार्डको सम्मान उपलब्ध गराएको थियो ।

आफ्नो जन्मथलो छाडेर सात समुन्द्रपारि पुगेका र शारिरीक रुपमा अशक्त भएरपनि पुर्जाले म्याग्दीका सामुदायिक विद्यालय र सामाजिक संघ संस्थालाई गर्नुभएको सहयोग धेरैका लागि अनुकरणीय विषय भएको बेनी सामुदायिक उच्च माविका प्राचार्य दिपक श्रेष्ठले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया