शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– नेकपा एमालेका एमाले विदेश विभागका प्रमुख केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारका लागि दोहोरो नागरिकता सान्दर्भिक नहुने बताएका छन् ।
नेकपा (एमाले) ले गैरआवासी नेपाली सङ्घ (एनआरएनए) को पाँचाँ विश्व सम्मेलनबाट नवनिर्वाचित नेतृत्वको सम्मानमा शनिबार राति आयोजना गरेको सम्मान कार्यक्रममा ओलीले भने, ‘एकपटक नेपाली नागरिकता लिएका व्यक्तिले अन्य जुनसुकै मुलुकको नागरिकता लिएको अवस्थामा पनि त्यसलाई खोसिनु हुँदैन ।’ उनले गैरआवासीय नेपालीलाई आर्थिक अधिकार र लगानीमैत्री वातावरणका लागि भने थप अधिकार दिन सकिने उल्लेख गरे ।
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन आफ्नो पार्टी गम्भीरताका साथ लागिरहेको बताउँदै सङ्घको सम्मेलनले पारित गरेका विभिन्न १७ बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि पनि सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
उनले विदेशमा रहेका नेपालीले आफ्नो योग्यता, सीप र पुँजीलाई नेपालको सामाजिक रुपान्तरणमा परिचालन गर्ने वातावरण बढेकामा खुसी व्यक्त गर्दै यस अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा एमालेका विभिन्न नेता, एनआरएनएका नवनिर्वाचित कार्यसमिति र सम्मेलनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेकपा (एमाले) को विदेश विभागद्वारा आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष झलनाथ खनालले एनआरएनएका नवनिर्वाचित अध्यक्ष जीवा लामिछानेलगायत कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरे ।
यसअघि नेपाली कांग्रेसले पनि गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को पाँचौँ विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्मानमा शनिबार नै चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया