काठमाडौं– एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले प्रधानमन्त्री बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् । भट्टराई पक्षधरले पनि त्यसको बचाउ गर्दै आफ्नो भनाइ राखेका छन् ।
दाहाल पक्षले भारतसँग गरिएको लगानी प्रर्वद्धन सम्झौता (बिपा) को विरोध गरेपछि प्रधानमन्त्री भट्टराई पक्षधर नेताहरुले पनि पार्टी संस्थापनकै असहयोगले सरकारले प्रभावकारी काम गर्न नसकेको बताए ।
प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका केन्द्रीय सदस्य गंगा श्रेष्ठले शुक्रबारको बैठकमा सरकारलाई पार्टी संस्थापन पक्षधरबाटै सहयोग नभएकाले अपेक्षाअनुसार काम गर्न नसकिएको बताए । दाहाल पक्षधर नेताहरुले सरकारले बिपा सम्झौता गरी गल्ती गरेको, गुटको मन्त्रिपरिषद बनाएको भन्दै चर्को आलोचना गरेपछि श्रेष्ठले संस्थापनबाटै सहयोग नभएको बताएका हुन् । ‘सरकारमा रहेका र नरहेकाहरुले सरकार र बिपाको विरोध गर्नुको कुनै औचित्य छैन’, श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले भने । उनको यो भनाइ सरकारमै रहेका दाहाल र नारायणकाजी श्रेष्ठ पक्षधरका नेताहरुप्रति लक्षित थियो ।
श्रेष्ठले ‘पार्टी लाइनअनुसार सरकार बने पनि त्यसअनुरुप संगठन हुन नसकेका’ कारण सरकारले प्रभावकारी हिसाबले काम गर्न नसकेको बताएका थिए । श्रेष्ठको भनाइको संकेत ‘भट्टराईको राजनीतिक लाइनअनुसार सरकार बने पनि संगठनमा पकड हुन नसकेको’ तर्फ थियो । भट्टराईको राजनीतिक लाइनअनुसार पार्टी चले पनि संगठनमा भने दाहाल र उपाध्यक्ष मोहन वैद्यको पकड देखिन्छ ।