रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रकृया अघि बढाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नै मुख्य बाधक रहेको गुनासो गर्नुभएको छ । रौतहट विकास गुठीले आइतबार बिहान रौतहटको गंगा पिपरामा गरेको शितलहर पीडितलाई कम्बल वितरण गर्ने कार्यक्रममा नेता नेपालले प्रधानमन्त्रीको आलटालले शान्ति प्रकृया अघि नबढेको दावी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शान्ति प्रकृया र संविधान निर्माणमा वर्तमान सरकारले आलटाल गरेर बेकारमा समय खेर फालेको बताउनुभयो । शिविरमा रहेका लडाकुलाई पुनःस्थापना लगायत सेना समायोजन सहितका काममा वर्तमान सरकारले नै ढिलाई गरिरहेको आरोप लगाउनुभयो ।
नेता नेपालले शान्ति प्रकृया तथा संविधान निर्माणको काम पुरा गर्न इमान्दारिता र लचकता देखाउन माओवादीसँग आग्रह गर्नुभयो ।