Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बेनी –  धौलागिरी हिमालको काखमा अवस्थित म्याग्दीलाई यसवर्षको चिसोले अंगालिसकेको छ । चिसोले यहाँका बस्ती दिनानुदिन चिसिइरहँदा राजनीतिक नेता, कार्यकर्ता र आम जनतामा पलाएको चुनावी उत्साहले सिंगो म्याग्दी रपक्कै तातेको अनुभुत गर्न गाह्रो छैन । दोस्रो संविधानसभाको निर्वाचनको मिति अव हातका एकसरो औलाले गन्दा भेट्टाउन सकिने भैसकेको छ । चाडवाड र सार्वजनिक विदाका दिनमा पनि आफ्नो चुनावी प्रचारलाई निरन्तरता दिएका दलहरुले यसलाई अझै तीव्र बनाएका छन् । फरक यत्ति छ, कुनै दल आक्रामक प्रचारमा छन् कुनै रक्षात्मक ।
एक निर्वाचन क्षेत्र र ४१ वटा गाविस रहेको म्याग्दीमा अघिल्लो निर्वाचनमा ८० हजार मतदाता थिए । त्यो संख्या घटेर अहिले ५६ हजार ३३७ मा झरेको छ । लाहुरेहरुको जिल्लाका रुपमा चिनिने यो जिल्लामा कुल मतदाता घट्नुका कारणहरु धेरै छन् । तीमध्ये मुख्य कारण भनेको यहाँका धेरै पुरुषहरु विदेशिएका छन् । गाउँका अधिंकाश वस्तीहरुमा महिला र केटाकेटीहरुकै बाहुल्य रहेको छ । अघिल्लो संविधानसभामा ५० हजार मत खसेको यस जिल्लामा यस पटक ४४ हजारको हाराहारीमा मत खस्ने यहाँका विभिन्न राजनीतिक दलहरुले आँकलन गरेका छन् ।
२०६४ को निर्वाचनमा खसेको ५० हजार मतमध्ये एकीकृत माओवादीका उम्मेद्वार गोविन्द पौडेल २३ हजार १ सय २ मतले बिजयी भएका थिए । माओवादीका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी नरदेवी पुनले १४ हजार ४ सय ५२ र काँग्रेसका उम्मेद्वार रेशमबहादुर बानियाँले ७ हजार ६ सय २६ मत प्राप्त गरेका थिए । त्यो अवस्थामा एकीकृत माओवादीले प्राप्त गरेको मतसंख्या एमाले र काँग्रेसको उम्मेद्वारले प्राप्त गरेको जोड्दा समेत पुग्दैन ।
यसपटक एमाओवादीले बरिष्ठ केन्द्रिय सदस्य लोकेन्द्र विष्टमगरलाई यस जिल्लाको उम्मेद्वार बनाएको छ । म्याग्दीमा हाल चुनावी मैदानमा रहेका अन्य उम्मेद्वारको तुलनामा विष्टमगर राष्ट्रिय राजनीतिमा उदाएका एक शसक्त हस्ती हुन् । त्यसो त पहिलेको तुलानामा एकीकृत माओवादीको सांगठानिक आधार पनि बढेको छ । मजवुत संगठन र उच्च राजनीतिक हैसियतको उम्मेद्वारका कारण बढेको जनलहरले यसपटकको निर्वाचनमा पनि म्याग्दीमा एकीकृत माओवादीको विजय हुने पक्का भएको छ ।
पहिलो संविधानसभामा दोस्रो स्थान हासिल गरेकी एमालेकी नरदेवी पुन अहिले समानुपातिक कोटाको बन्द सुचीमा छिन् । त्यसअघिको आम निर्वाचनमा पनि उनी नेपाली कांग्रेसका नारायणसिंह पुनसँग पराजित भएकी थिइन् ।
उम्मेद्वारी छनोटको क्रममा लामो विवादपछि टुंगिएको नेकपा एमाले म्याग्दी यो निर्वाचनमा त्यही विवादको शिकार हुने भएको छ । यसपटक एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले टिकट पाउनुपर्ने भए पनि ओली खेमाका नवराज शर्माले अनेक तिकडम गरेर भोटिङ मार्फत ३५ भोट ल्याएर टिकट हत्याएका थिए । त्यसैले असन्तुष्ट खनाल पक्षका हरिकृष्णको सिंगो टिम खुलेर निर्वाचनको माहोल तताउन लागेको छैन ।
उता नेपाली कांग्रेसका सभापति रेशम बानियाँले समानुपातिक कोटाबाट आफ्नो सभासद पद सुरक्षित गरेर मात्र खमवीर गर्वुजालाई प्रत्यक्षमा टिकट दिन सहमत भएका थिए । तर पार्टीको समानुपातिकको बन्द सुचीमा धनकुमारी थापाको नाम राखेपछि चिढीएका बानियाँको पनि चुनावप्रतिको मोह भंग भएको छ । बेलायती लाहुरे खमवीर चुनाव लड्नकै लागि भिसा लगाएर म्याग्दी आएपनि उनलाई पार्टी संगठन र आम म्याग्देलीले चिनेका छैनन् । उता उम्मेद्वार बन्ने दौडमा रहेका देउवा प्यानलका नेत्रबहादुर महत टिकट नपाएपछि असन्तुष्ट बनेका छन् । महतको असन्तुष्टि पनि खमवीरको हारको एक प्रमुख कारण बन्ने भएको छ ।
जिल्ला समितिको बैठकले एकमतले पारित गरेर मगराँत राज्यका ईन्चार्ज लोकेन्द्र विष्टमगरलाई चुनावी मैदानमा उतारेको एमाओवादीको लागि म्याग्दी जितको लागि अनुकूल बन्दै गएको छ । अन्य दलको तुलनामा आफ्नो चुनावी प्रचार शैलीलाई निकै आक्रामक बनाएको माओवादीले अन्य दललाई रमिते बनाईदिएको छ । एजेण्डा केन्द्रित हस्तक्षेपकारी प्रचारशैली, कार्यकर्ताको प्रभावकारी खटनपटन, उम्मेद्वारप्रति बढ्दो आकर्षण, नेकपा-माओवादीसँग भएको भद्र सहमति, अन्य प्रतिस्पर्धी दलहरुबीच बढ्दै गएको बैमनश्यताले गर्दा एकीकृत माओवादीलाई म्याग्दीमा चुनाव जित्न अनुकूल वातावरण बनेको विश्लेषकहरु बताउँछन् ।
यस जिल्लाको एमाले र कांग्रेसका असतुष्टहरुले अखण्ड नेपाल पार्टी गठन गरेका छन् । गत चुनावमा राप्रपाका उम्मेद्वारले नेपाली काँग्रेसलाई समर्थन गरेपनि अहिले भने राप्रपाका भिमप्रसाद गौचनको गतिविधि केही बढेर गएको छ । यसले कांग्रेस र एमालेलाई नै घाटा पुर्‍याउने छ । एकीकृत माओवादीका तर्फबाट दुई पटक मन्त्री भएका लोकेन्द्र विष्टमगर उम्मेद्वार बनेपछि अनपेक्षित प्रतिद्वन्द्वी पाउँदा प्रतिस्पर्धीले सृजना गरेको भ्रम उनीहरुका लागि प्रतिउत्पादक बनेको छ भने लोकेन्द्र विष्टलाई नै विपक्षीले केन्द्रीत गरेर प्रचार गर्दा विष्टको विषयमा थप जनचासो बढेको छ । विष्ट मगर चुनाव प्रचारका क्रममा दुर्गम गुर्जा गाविस समेत पुगिसकेका छन् । भौगोलिक रुपमा पिछडिएको गुर्जामा अन्य उम्मेद्वारले अझै पाइला टेक्न सकेका छैनन् । आफ्नो झोला आफै बोकेर कुना कन्दराका वस्तीका बासिन्दाको घरदैलोमा साधारण जीवनशैली र स्फुर्तीका साथ विष्टलाई पाउँदा गाउँका मतदाताले विष्टलाई बुझेको भन्दा फरक पाएको प्रतिक्रिया दिएका छन् । यतिबेला म्याग्दीका गाउँ गाउँमा बौद्धिक र शिक्षित वर्ग लोकेन्द्र विष्ट म्याग्दीका लागि अवसर भएको भन्दै जिताउनका लागि स्वस्फुर्त लागेका छन् । ३५ ओटा गाविसमा आफ्नो चुनावी अभियान सम्पन्न गरिसकेका विष्ट हाल दोवा गाविसको अभियानमा छन् ।
केन्द्रिय राजनीतिका स्थापित व्यक्तित्वलाई उम्मेद्वारका रुपमा पाउँदा यहाँका जनताको आवाज नीति निर्माणतहसम्म पुर्‍याउन सकिने तथा सिंहदरवारमा पर्याप्त पहुँच नहुँदा विकास बजेटमा देशभरमा ७० औं स्थानमा पर्न पुगेको म्याग्दीमा विकासका लागि योगदान गर्नका लागि विष्टको क्षमता अवसर बन्न सक्ने वौद्धिक वर्गको बुझाई छ । जिल्लाका प्रत्येक गाउँहरुमा यही सन्देश फैलिरहेको छ । स्वंय विष्टको आत्मीय, मिजासिलो व्यवहार, सरल र शिष्ट बोलीचालीले अन्य पार्टीका नेता तथा कार्यकर्तालाई समेत प्रभाव नपारेको होइन ।
अन्य दलको प्रचार एकीकृत माओवादीलाई दोष थोपर्ने र भ्रम सिर्जना गराउनेमा केन्द्रित भइरहंदा एकीकृत माओवादीले भने सरल र सौहार्द्रपूर्वक रुपमा आफ्नो विचार र एजेण्डालाई जनतामाझ पुर्‍याइरहेको छ । चुनाव प्रचारका लागि एकीकृत माओवादीले अपनाएको विकेन्द्रित र गाउँ केन्द्रित कार्यकर्ता परिचालन नेतृत्व र नीतिलाई जनतामाझ स्थापित बनाउन प्रभावकारी बनिरहेको छ । संगठनात्मक र राजनीतिक रुपमा आफुहरु बलियो रहेको र कुशल नेतृत्वका कारण पनि आफ्नो पार्टीको जित सुनिश्चित भैसकेको बताउँछन् एमाओवादी म्याग्दीका संयोजक गोविन्द पौडेल ।
हालै पश्चिम म्याग्दीका गाविसहरुमा चुनाव प्रचार गरेर सदरमुकाम आएका नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले म्याग्दीमा आफ्नो मुख्य प्रतिस्पर्धी एनेकपा माओवादी हुने सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । यसअघि काँग्रेससँग मुख्य प्रतिस्पर्धा हुने बताउँदै आएको एमालेले एकाएक प्रतिस्पर्धी बदल्नुमा पनि एकीकृत माओवादीको गाउँमा प्रभाव कायमै रहेको बुझ्न सकिन्छ । काँग्रेसले पनि एमाओवादीलाई नै मुख्य प्रतिस्पर्धी रहेको बताउँदै आएको छ । यसपटक राप्रपाले पहिलेको तुलनामा केही मत बढाउने भएपनि आफनो प्रतिस्पर्धा सांगठनिक रुपमा एमाले र राजनैतिक रुपमा नेपाली कांग्रेससँग हुने बताउँछन एमाओवादीका उम्मेद्वार लोकेन्द्र विष्टमगर ।
एमाओवादीले सांगठनिक रुपमा प्रतिस्पर्धी ठानेको एमाले र राजनैतिक रुपमा प्रतिस्पर्धी ठानेको काँग्रेसको बिचमा गलेश्वरमा भएको झडपले गर्दा दुरी बढ्दै गएको हुनाले त्यसको प्रत्यक्ष फाइदा एकीकृत माओवादीलाई पुगेको स्वयम् एमाले काँग्रेसका नेता कार्यकर्ताले बताउने गरेका छन् । गत कात्तिक १७ गते गलेश्वरमा भएको काँग्रेस, एमाले भिडन्तपछि उनीहरु एक अर्कालाई आरोप लगाउन र प्रतिरोधमा उत्रने चेतावनी दिनमै व्यत्त छन् ।
चुनावको मिति नजिकिदै गर्दा म्याग्दीमा राप्रपाको गतिविधि भने १० दिनयता निकै कमजोर भएको छ । उम्मेद्वार भिमप्रसाद गौचन बिरामी भएर अस्पतालको बेडमा भएकाले उनको अनुपस्थितिमा प्रचार हुन सकेको छैन् । पोखराको एक अस्पतालमा रहेका गौचनलाई डाक्टरले एक हप्ता आराम गर्न सुझाव दिएका छन् । स्रोतका अनुसार चुनाव प्रचारको क्रममा गाउँ घुमेका गौचनको खुट्टामा जुकाले टोकेपछि भएको घाउको अप्रेशन गरिएको छ । त्यस्तै राप्रपाका समानुपातिक उम्मेद्वार जगत गौचन र प्रत्यक्ष उम्मेद्वार भिमप्रसाद सहोदर दाजुभाइ भएपनि जगत चुनाव प्रचारमा देखिएका छैनन् । यसले राप्रपाभित्रको अन्तरसंघर्षलाई पनि पुष्टि गरेको छ ।
म्याग्दी एमालेलाई एनजिओ आईएनजिओले चलाउने गरेको छ । कमजोर उम्मेद्वार, पहिचान र संघीयताप्रति स्पष्ट दृष्किोणको अभाव एमालेमा देखिन्छ । दलित र जनजातिभित्र कमजोर उपस्थिति रहेको एमालेलाई उनीहरुले यो निर्वाचनमा बाईबाई गर्ने निश्चित प्राय भएको छ । त्यस्तै कमजोर सांगठानिक संरचना र जनतासँग भिजेको उम्मेद्वार नपाउँदा नेपाली कांग्रेसको चारतारे झण्डाले मंसिर ४ मा जितको खुसी मनाउन नपाउने भएको छ । तर वर्तमान नेपाली राजनीतिको बाहक एकीकृत नेकपा माओवादीको झण्डा पहिलो संविधानसभामा जस्तै यसपटक पनि भारी मतले फहराउने पक्का छ । ***
तपाईको प्रतिक्रिया