Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
० परालको गुन्द्री खाएर बाँचेकी कञ्चनपुरकी चेली हुँ 
० मलाई मरिसक्यो भनेर कञ्चनपुर पार्टीले शहीद घोषणा गरेको थियो ।
० तर पनि म अहिले जिउँदो शहीद भएर बाँचेकी छुँ ।
० एकपटक महिलालाई पनि अवसर दिनुहोस ।
binaआसन्न दोस्रो संविधानसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै उम्मेदवार आ-आफ्नो क्षेत्रमा चुनावी प्रचारमा सक्रिय छन् । पार्टीबाट टिकट थाप्न सफल भएपछि, सबै उम्मेदवारलाई जित हात पार्ने चुनौती थपिएको छ । कञ्चनपुर क्षेत्र नम्बर-१ मा अन्य पार्टीजस्तै एकीकृत नेकपा माओवादीका उम्मेदवार विना मगरले समेत चुनावी प्रचार-प्रसार अभियानमा तीव्रता दिएका छन् । कञ्चनपुरको कालिका गाविस सुकुम्वासी बस्तीमा जन्मिएकी विना २०५१ सालदेखि माओवादी राजनीतिमा लागेकी विना २०५६ सालमा अखिल नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष भइन् । त्यसपछि उच्च शिक्षा अध्ययनका लागी राजधानी गएकी विनाले त्यहाँ पनि अखिल (क्रान्तिकारी) मा काम गरिन् । २०६० सालमा तत्कालिन सरकारले विनालाई माओवादी कार्यकर्ताको आरोपमा गिरफ्तार गरयो । २७ महिना भैरवनाथ गणमा बन्दी बनाइएकी बिनालाई मरे भनेर छाडेको थियो । २०६५ सालमा उनी काठमाडौँस्थित सरस्वती क्याम्पसको बहुमतले स्ववियु सभापतिमा विजयी भएकी संघर्षशील, अटल, कर्तव्यनिष्ठ, निडर निर्वाचन क्षेत्र नम्बर १ की एक मात्र महिला उम्मेदवार हुन । चुनावी कार्यक्रम, जनमतको अवस्था र चुनावी परिणामको आँकलनबारे उम्मेद्वार विना मगरसँग गरिएको कुराकानी –
० तपाईको क्षेत्रमा चुनावी चहल-पहल कस्तो छ ? 
– जनसहभागिता, कार्यकर्ता परिचालन र जनचासोका हिसाबले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ भरी जताततै चुनाव लागेको छ । अरु क्षेत्रमाभन्दा १ नम्बर क्षेत्रमा बढी चुनाव लागेजस्तो देखिन्छ । जनताको हामीप्रति आशा, अपेक्षा छ । हामी पनि घरदैलोमा छौं । चहलपहल राम्रो छ । निर्वाचन कार्यक्रममा पाइएको जनसहभागिताले संविधानसभाबाट संविधान निर्माण गर्न आवश्यक रहेको कुरालाई झनै प्रस्ट्याएको छ ।
० तपाईको पक्षमा निर्वाचनको माहोल कस्तो छ ?
– क्षेत्र नम्बर-१ मा एकीकृत नेकपा माओवादीको पक्षमा अघिल्लो चुनावमा समेत सकारात्मक माहोला थियो र अहिले पनि छ । अघिल्लो चुनावमा पुरन रानाथारुले यसै क्षेत्रबाट जितेका थिए । माओवादीले बोकेका जनपक्षीय एजेण्डा र क्षेत्र नम्बर-१ का जनताको भोगाइले मेल खान्छ । यहाँको विकास निर्माण, सामाजिक, भौगोलिक अवस्थालाई हाम्रो पार्टीको एजेण्डाले सम्बोधन गरेको छ । पार्टीको उम्मेदवार भएका नाताले र स्थानीय वासिन्दा भएका नाताले समेत म क्षेत्र नम्बर-१ को माटोमा राम्ररी भिजेकी छु । जसले गर्दा चुनावी माहोल आफ्नो पक्षमा पार्न झनै सहज भएको छ ।
० सबै जनताको घर-घरमा पुग्न समय पाउनुभएको छ ?
– हामीसँग समय एकदमै कम छ । चुनावको मिति मंसिर ४ गते आउन २ हप्ताको समय पनि छैन, घरदैलो कार्यक्रम गरिरहेका छौं । सम्भव भए जति सबैको घर-घरमा पुग्ने प्रयास गरिँदै छ । नभएका ठाउँमा टोलटोलमा भेला गरेर अन्तरक्रिया र भेटघाट गर्ने तयारी छ । चुनावी अभियानका क्रममा मात्रै घरदैलो कार्यक्रम गर्ने भन्ने होइन । चुनाव सकिएपछि पनि घरदैलो, अन्तरक्रिया, छलफल, भेटघाट गर्न सकिन्छ । नेताले सदैव जनताकै साथमा रहनुपर्छ । अर्कातिर, हाम्रो पार्टी कमिटी समेत घरघरसम्म छ । कार्यकर्ता र स्थानीय नेतामार्फत समेत हामी जनताको घरघरसम्म पुगिरहेकै छौं ।
० जनता के भन्छन् त ?
-जनता संविधानसभाबाट संविधान निर्माण भएको हेर्न चाहन्छन् । जुन संविधानमा जनताका सम्पूर्ण अधिकार उल्लेख भएका होउन् । संविधानसभाबाट संविधान निर्माण गर्न सक्षम अन्तरक्रियालाई संविधानसभामा पठाउने अवसर पनि यही हो । जनता यसप्रति समेत सचेत छन् । अर्कातिर, काठमाडौंमा केन्द्रित भएको केन्द्रीकृत राज्यसत्ताबाट टाढा रहेको कञ्चनपुर सदरमुकाम, त्यहाँबाट समेत टाढा रहेको क्षेत्र नम्बर-१ ले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन सकेको छैन । जनता राज्यबाट पाउनुपर्ने अधिकार खोजिरहेका छन् । विकास निर्माण खोजिरहेका छन् । कञ्चनपुर क्षेत्र नम्बर-१ र काठमाडौंलाई जोडेर विकास-निर्माणलगायतका अन्य सम्भावना आफ्नो क्षेत्रमा भित्र्याउन सक्ने उम्मेदवारलाई जनताले विजयी गर्नुपर्छ । मतदाताले जनपक्षीय उम्मेदवार विजयी गराए आगामी ५ वर्षसम्म कञ्चनपुर-१ ले विकास देख्ने छ । जसका लागि एकीकृत नेकपा माओवादी र म उपयुक्त रोजाई हौं । विगतमा एमाले-काँग्रेसले जनतालाई विकास निर्माण दिएनन् नै, अघिल्लो संविधानसभामा माओवादीलाई समेत जनपक्षीय काम गर्न दिएनन् । जसबाट जनता सचेत भइसकेका छन् । एकीकृत माओवादीलाई दुई तिहाई बहुमत आवश्यक छ । तब मात्रै जनपक्षीय संविधान निर्माण सँगसँगै विकास, निर्माण र देशमा आर्थिक क्रान्तिको सुरुआत गर्न सकिन्छ ।
० जनता माओवादीप्रति पनि खासै सन्तुष्ट त छैनन् भनिन्छ नि ?
– जनता हामीप्रति पनि निराशावादी छन् । एमाले-काँग्रेसप्रति त पहिल्यैदेखि असन्तुष्ट थिए नै । हामी जनतामाझ गएर संविधान बन्नुका कारण, संविधानसभामा हामीले खेलेको भूमिका, आगामी संविधानसभामा खेल्ने भूमिका प्रष्टसँग राखेपछि जनतामा आशा जागेर आएको छ । अरु पार्टीभन्दा माओवादीप्रति जनता बढी आशावादी देखिन्छन् । जनता एकीकृत नेकपा माओवादीको विकल्प खोज्ने पक्षमा छैनन् ।
० त्यसो भए तपाईको जित निश्चित हो ?
– निश्चित नै छ । पहिलो कुरा कञ्चनपुर क्षेत्र नम्बर-१ मा जनजाति, थारु समुदायको बाहुल्यता छ । माओवादी पार्टी जातीय पहिचानको कुरा उठाएपछि विभिन्न जातजाति माओवादीको पक्षमा स्वतः नै भइहाले । अर्कोतिर, उत्पीडित जाति, क्षेत्र र समुदायको कुरा समेत माओवादीले उठाएको छ । कञ्चनपुरको सवालमा क्षेत्र नम्बर-१ उत्पीडित क्षेत्र हो । हाम्रो पार्टीको एजेण्डाले यो क्षेत्रलाई निकास दिन सक्छ । हाम्रो पार्टी नै यहाँका सम्पूर्ण जाति, क्षेत्र र समुदायलाई सम्बोधन गर्न सक्छ । जुन कुरा जनताले राम्ररी बुझेका छन् । तर्सथ, जित्ने सम्भावना निकै बढेको छ ।
bina Ok० तपाईको राजनीतिक संघर्ष कस्तो रहयो ?
-हेनुहोस्, कुनै पनि परिर्वतन त्यति सहज हुँदैन । त्यसमा पनि हामी राज्यसत्ता परिर्वतनको लडाईमा थियौँ, म सानैदेखि अत्याचार, दमन र शोषणको बिरुद्धमा आवाज उठाउने महिला हुँ । सर्बप्रथम त महिलालाई राजनीति गर्न त्यति सहज हुँदैन, महिलाले अत्यन्तै कष्ट, दुःख तथा विभिन्न बाधा व्यवधानहरु झेल्नुपर्ने र थुप्रै चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ । म २०५१ सालदेखि पार्टीमा लागें । महिलालाई पार्टीभित्र र बाहिर कडा संघर्ष नै गर्नुपर्ने हुन्छ । २०६० सालमा मलाई तत्कालिन सरकारले गिरफ्तारी गरयो । २७ महिनासम्म मेरो आँखामा पट्टी लगाएर र मलाई यातनाका कुनै पनि रुप बाँकी राखेन । खाना पनि दिइएन, परालको गुन्द्री खाएर बाँचेकी कञ्चनपुरकी चेली हुँ । मलाई धेरैपटक सेनाले आत्मसमर्पण गर्न लगाए पनि मैले त्यो कुरा स्वीकार गरिन् । मलाई मरिसक्यो भनेर कञ्चनपुर पार्टीले शहीद घोषणा गरेको थियो । तर पनि म अहिले जिउँदो शहीद भएर बाँचेकी छुँ ।
० चुनाव जिते संविधान कसको पक्षमा लेख्नुहुन्छ ?  यस क्षेत्रको विकासका लागि तपाईको के भूमिका रहन्छ ? 
-एमाओवादीले चुनाव जिते सिंगो सर्बहारावर्गको पक्षमा संविधान बनाइने छ । म यही भूमिमा जन्मेकी हुँ, यहाँ यावत समस्याहरु विद्यमान नै छन् । विगतका पार्टीले यस क्षेत्रको समग्र विकासका लागी केही नगरेको अवस्था हो । अब एमाओवादीले यस क्षेत्रको विकासका लागी केही न केही गर्छ । यो ठाउँ दुर्गम पहाडी जिल्लाभन्दा कम छैन । केन्द्रीय राज्यभन्दा टाढा त छौँ, तर हाम्रो सदरमुकामभन्दा पनि निकै टाढा रहेको अवस्था छ । यहाँका मुख्य-मुख्य सडकहरु मर्मत, कालोपत्रे नभएका कारण पनि यहाँका नागरिकहरुको जीवन निकै कष्टकर छ । हामीले यस क्षेत्रको समग्र विकासका लागी नयाँ ढङ्गबाट सोचेका छौँ । डोकेबजार हुँदै महेन्द्नगर जोड्ने हुलाकी मार्गलाई निरन्तरता, बेलौरी-कलुवापुर, दैजी-बेल्डाँडी, डोकेबजार-कालिका-बेलौरी सडकको पूर्णता साना-साना सडकहरुको मर्मत गर्नुपर्छ । यहाँको मुख्य कटानी समस्याजस्तै दोदा, झर्नाखोला, चौधर लगायतका स-साना खोलाहरुको कटानी, डुबानी समस्या केन्द्रसम्म पुरयाउंछु । सीमा सुरक्षा, प्रत्येक गाविसमा खेलकुद केन्द्र, मिनी कर्बड हल निर्माण, यहाँका थारु समुदायको पहिचानका लागी एक थारु म्यूजियम निर्माण, युवाहरुलाई रोजगारीका अवसर दिलाउनुपर्ने आवश्यक छ । वषौँदेखिको आरक्ष पीडित, बाढी पीडित, सुकुम्वासी, महिला, दलित, आदिवासी, पिछडिएको क्षेत्रको उत्थानका लागी पहल गर्ने छु ।
० अन्तमा, केही भन्नु छ ? 
-म कञ्चनपुर जिल्लाबाट पहिलो महिला उम्मेदवार हुँ । अन्य पार्टीले महिला दिएनन् तर एमाओवादीले महिला उम्मेदवार दियो । त्यसमा पनि जनजाति महिला । म तपाईको छोरी छुँ, मलाई पहिलो महिला जिताउनुहोस् । जनमुखी संविधानसँगै यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक समस्याहरुको पहिचान गरी समाधानका लागि राज्यलाई घचघच्याने छु । यस क्षेत्रको विकास र निर्माणका लागि निरन्तर लड्ने छु । अहिलेसम्म यो क्षेत्रबाट पुरुषलाई मात्र अवसर दिनुभयो एकपटक महिलालाई पनि अवसर दिनुहोस । ***
श्रोत: कृष्णसेन न्यूज 
तपाईको प्रतिक्रिया