काठमाडौं- एकीकृत माओवादी केन्द्रीय कमिटीको आज बस्ने बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा असहमति जनाउँदै लिखित रुपमा फरक प्रस्ताव पेस गर्ने भएका छन् ।
यसअघि सोमबारका लागि बोलाइएको बैठक एकदिन पछि सार्दै प्रस्तावको तयारीमा जुटेका वैद्यले आज छुट्टै फरक प्रस्ताव पेस गर्न लागेका हुन् ।
गएको शनिबार सुरु भएको माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बुँदे प्रस्ताव पेस गरेका थिए भने त्यसप्रति असन्तुष्ट वैद्यले फरक प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् ।
बिहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु हुने बैठकमा उपाध्यक्ष वैद्यले पार्टीको घोषित नीति विपरित नेतृत्वअघि बढेकोमा आलोचना गर्दै पालुङटार बैठकको कार्यदिशालाई आधार बनाएर अघि बढ्नुपर्ने लगायतका विषय उल्लेख गरेको माओवादी पोलिटब्युरो सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमा पार्टीभित्र देखिएका सबै खालका अन्तरविरोधको छिनोफानो महाधिवेशनले नै गर्ने उल्लेख गर्दै शान्ति, संविधान लगायतका विषयमा १० बुँदा प्रस्ताव पेस गरेका थिए ।