सोल- दक्षिण कोरियामा गौतम बुद्धको दुर्लभ प्रतिमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । राजधानी सोलबाट ३ सय ५४ किमि दक्षण्ामा हाप्छनमा रहेको १ हजार वर्षभन्दा पुरानो बुद्धको प्रतिमा ‘त्रिपिटका कोरियाना फेस्टिभल २०१३’ का अवसरमा पहिलोपटक गत शुक्रबारबाट सार्वजनिक गरिएको हो ।
नवौं शताब्दीमा चट्टानमा कुँदिएको बुद्धको पूर्ण कदको प्रतिमा त्यहाँको हेइन्सा मन्दिर परिसरमा छ । ७.५ मिटर उचाइ र ३.१ मिटर चौडाइको उक्त प्रतिमालाई कोरियाले राष्ट्रिय सम्पदा र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यसअघि उक्त प्रतिमा बौद्ध भिक्षुहरूको मात्र पहुँचमा थियो ।
यो ‘फेस्टिभल’ २०११ यता बर्सेनि हुँदै आएको छ । यसपालिको फेस्टिभलमा १३ औं शताब्दीतिर चिनियाँ भाषामा लेखिएको बौद्ध धर्म ग्रन्थका ५२ लाख अक्षर र अमूल्य काठमा कुँदिएका ८१ हजार २ सय ५८ वटा बौद्ध सामग्ा्री छन् ।
६० देशका कूटनीतिक प्रमुखहरूको उपस्थितिमा ख्याङसाङ प्रदेशका गभर्नर होङ जुन फ्योले ‘फेस्टिभल’ उद्घाटन गरेका थिए । त्यहाँ गिम्छन विश्वविद्यालयका प्रा. नवराज पन्तको अवाधारर्ण र विनोदबहादुर श्रेष्ठको डिजाइनको लुम्बिनीको प्रतिरूप र ऐतिहासिक तस्बिरहरू राखिएका छन् । अन्तर्राष्ट्रिय बौद्ध समाजका सल्लाहकार भिक्षु मैत्री शाक्य, भिक्षु पूर्णध्वोज शाक्य र कर्मा दोर्जे लामा पनि सहभागी छन् ।
कोरिया सरकारको सहयोगमा सञ्चालन भइरहेको फेस्टिभलमा दैनिक २ हजार दर्शकले अवलोकन गरिरहेका छन् । नोभेम्बर १० सम्म हुने फेस्टिभलमा चिनियाँ, जापानी र अन्य गरी एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । कोरियामा तेस्रो शताब्दीमा बुद्ध धर्मको प्रवेश भएको मानिन्छ । यहाँ २२ प्रतिशत बौद्ध धर्मावलम्बी छन् ।