पर्सा – बोक्सी आरोपमा गाउँलेले ४५ वर्षीया पार्वतीदेवी थारू चौधरीको हत्या गरेपछि सुपौली-९ सढिटोल अशान्त मात्र छैन, उजुरी परेकाले सबैजसो पुरुषले शुक्रबारै गाउँ छाडी भाग्दा मलामीसमेत छैनन् । आफ्ना पुरुषको संलग्नता खुल्ने डरले गाउँका महिला घटनाबारे मुख खोल्न चाहँदैनन् ।
राजधानीबाट शुक्रबार साँझ मात्र आइपुगेका गाविसका पूर्वअध्यक्ष सुवास राउत शनिबार मलामी र दाहसंस्कारका लागि काठ-दाउराको जोहो गर्दै भौंतारिएका भेटिए । ‘के गर्नु, नहुनुपर्ने अकल्पनीय घटना भो, सिंगो गाउँकै नाक काटियो,’ उनले भने, ‘गाउँमा पुरुष नभएकाले छिमेकी गाउँबाट मलामी बोलाएको छु ।’ घटनामा ‘नाम पोलिने डरले’ प्रायः सबै पुरुषले गाउँ छाडेको उनले बताए ।
पार्वतीको बिहीबार राति हत्या गरेपछि उनका पति भगन राउतलाई हत्यामा संलग्नहरूले राति र शुक्रबार दिनभर नियन्त्रणमा राखे पनि साँझ त्यहाँबाट फुत्किएर भगन प्रहरीको सम्पर्कमा पुगेपछि गाउँका पुरुष फरार भएका हुन् । पीडितका अनुसार छिमेकी जगदीश चौधरीकी छोरी प्रतिमालाई तन्त्रमन्त्र लगाएको भन्दै जगदीशका छोरा अनिल, धनराज, नवीन, विश्राम र स्वयं प्रतिमासहित गाउँलेको समूहले आक्रमण गर्न थालेको एक घन्टापछि बिहीबार राति करिब १ बजे पार्वतीको मृत्यु हुन पुगेको थियो ।
आफन्त सबै जना शव पोस्टमार्टम गराउन लगिएको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गएकाले सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा रहेको पार्वतीको घरमा शनिबार २० वर्षीया छोरी सन्केशीबाहेक कोही भेटिएनन् ।
आमाको हत्यापछि अचेतझैं भएकी उनी कुनै प्रतिक्रिया दिन सक्ने अवस्थामा छैनन् । ‘बहुलाहीझैं भएकी छन्, होसमा छैनन्,’ गाविसका पूर्वअध्यक्ष राउतले भने, ‘न खाना खाएकी छन्, नसुतेकी छन्, टोलाएर यताउता हिँडछन्, छिमेकीले समातेर राखेका छन् ।’
पार्वतीका तीन छोरा र एक छोरी छन् । आफन्तले परीक्षणपछि साँझ शव बुझेर लिएका छन् । अस्पतालमा भेटिएका पार्वतीका पति भगनका अनुसार हत्यामा संलग्नहरू ‘आफन्त नै हुन् ।’ आफ्नो हजुरबा र जगदीशका हजुरबा एकै भएको उनले बताए । पीडितका अनुसार पार्वतीलाई बिहीबार दिनभर बोक्सी मन्त्र लगाएको भन्दै गालीगलौज र मानसिक यातना दिइएको थियो । ‘दिनभर गाली गरे, प्रतिमाको शरीरमा देउता आएर मेरी पत्नीको नाम बकिन् रे,’ भगनले भने, ‘त्यसपछि विवाद समाधान गर्न भन्दै बिहीबार राति ९ बजे गाउँमा पञ्चायती राखियो ।’ पञ्चायतीमा बस्नेहरूले पति-पत्नी दुवैलाई गाउँ निकालाको आदेश दिएका थिए । ‘मैले पत्नी दोषी नभए पनि निर्णय शिरोपर गर्दै घरमा आएर पत्नीलाई पञ्चको निर्णय सुनाएँ,’ उनले रुँदै भने, ‘पार्वतीले म दोषी छैन भन्ने तपाईंलाई थाहा छ तैपनि पञ्चको निर्णय कसरी मान्नु भो भनेर आपत्ति जनाइन्, मैले आफ्नो केही नलागेको भन्दै सम्झाइबुझाई गरेपछि गाउँ छाड्न उनी सहमत भइन् ।’
तर राति जगदीशका परिवारसहितको समूहले घरमा पसेर पत्नी पार्वतीलाई जबर्जस्ती खोसेर लगेको उनले बताए । ‘प्रतिमाले त्यहीं लठ्ठीले हिर्काउन थाली, मैले प्रतिकार गर्न खोज्दा सँंगै आएका अन्य व्यक्तिले हामी यसलाई अहिले लग्छौं, भोलि माइतीका मानिस बोलाएर जिम्मा लगाइदिन्छौं भनें,’ भगनले भने, ‘म रातभर घरमा जाग्राम बसें, भोलिपल्ट बिहानसम्म पार्वती नआएपछि सोझै छिमेकको हरैया गाउँमा ससुराली पुगें ।’ पीडितका अनुसार पार्वतीलाई लछारपछार गर्दै घरबाट निकालेर गाउँलेले स्थानीय मोहन चौधरीको घरअगाडि पुर्याई कुटपिट गर्न थालेका थिए । आक्रमणको करिब एक घन्टापछि मृत्यु हुन पुगेको थियो । ‘पार्वतीलाई माइतीमा पनि नभेटेपछि गाउँ र्फकंदा जगदीशको घरनजिक कम्बलमा बेरिएको अवस्थामा फेला परिन्,’ भगनले भने । प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले पीडित परिवारबाट शनिबार लिखित जाहेरी आए पनि बिदा परेकाले आइतबार मात्र दर्ता हुने बताए । अपराधी भfग्ने सम्भावना रहेकाले जाहेरीमा आरोपितहरूको नाम र संख्या गोप्य राखिएको छ । प्रहरीले जगदीशकी पत्नी पासपती देवीसहित १५ वर्षीया सीमा कुमारी र ३५ वर्षीया रेणु देवीलाई शुक्रबारै पक्राउ गरिसकेको छ ।