काठमाडौं – अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई ‘भावी राष्ट्रपति’ भनेर प्रचार गर्यो । उनकै नाममा सहरदेखि गाउँसम्मका भित्ता रंगिए, ब्यानर टाँसियो । दाहालकै नेतृत्व स्थापित गर्ने भन्दै चुनावमा होमिएको माओवादी ठूलो पार्टी पनि बन्यो । राष्ट्रपति संवैधानिक/आलंकारिक रहने व्यवस्था भएपछि दाहाल कार्यकारी अधिकारयुक्त प्रधानमन्त्री बने । त्यसपछि उनमा ‘भित्ते राष्ट्रपति’को परिचय पनि थपियो ।
त्यसबेला संविधानसभाको प्रमुख दायित्व थियो, २०६२/६३ को जनआन्दोलनको म्यान्डेटअनुरूपको संविधान लेख्नु । दुई वर्षका लागि गठित संविधानसभाको पटक- पटक म्याद थपियो र अन्ततः संविधान नलेखी ४ वर्षमा १४ जेठ ०६९ मा अवसान भयो । मुलुक फेरि नयाँ संविधानसभाको चुनावमा होमिएको छ । अबको संविधानसभाले भने पहिलो वर्षमा संविधान लेख्ने र बाँकी ४ वर्ष संसद्को रूपमा काम गर्ने दलीय समझदारी छ ।
संविधान लेख्ने प्रमुख कार्यभारको अघिल्लो चुनावमै घोषित/अघोषित रूपमा सरकार प्रमुखका उम्मेदवारहरूका पनि अगुवा तय गरेका थिए दलहरूले । माओवादीले घोषणा नै गर्यो भने कांग्रेसले पनि घुमाउरो हिसाबले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाई उभ्याएको थियो । माओवादीले देशकै अभिभावकजस्तो मानिस एउटा पार्टीको प्रचारमा हिँड्न नहुने भनेर हौस्याएपछि कोइराला चुप बसेका थिए ।
एमालेले पनि तत्कालीन महासचिव माधवकुमार नेपाललाई रौतहट र काठमाडौं गरी दुई स्थानबाट चुनाव उठाएर भावी नेतृत्वको संकेत गरेको थियो । कांग्रेस छाडेर गएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र मधेस आन्दोलनका एक प्रमुख अभियन्ता मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव क्षेत्रीय शक्तिका रूपमा उदाएर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने अभियानमा थिए ।
अब हुने संविधानसभाले त झन् एक वर्षमा संविधान निर्माण सकेर ४ वर्ष संसद्को काम गर्ने भनिएको छ । के दलहरूले आ- आफ्ना भावी नेतृत्व निर्धारण गर्नेछन् ? एमाओवादीले स्पष्टता देखाए पनि अन्य दल भने अलमलमै छन् । ‘नेताबीच केही फरक बुझाई भए पनि सिंगो पार्टीभित्र कुनै विवाद छैन । निर्विवाद रूपमा अध्यक्ष (दाहाल) नै हाम्रो नेता हो,’ एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘बाबुरामजीले समेत गएको महाधिवेशनमा अध्यक्षलाई नेताहरूको पनि नेता, आफूहरूको पनि नेता स्वीकार गर्नुभएको छ ।’ तर यसबारे औपचारिक निर्णय भने १३ असारबाट बस्ने केन्द्रीय कमिटीले गर्ने उनले बताए ।
तत्काल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली स्थापना हुन गाह्रो भए कार्यकारी प्रधानमन्त्री दाहाल नै हुने उनले बताए । ‘साइडबाट कति खेल्छन् । यहाँ एकैसाथ धेरै कार्ड खेलिन्छ, त्यो बेग्लै कुरा हो,’ सापकोटाले भने, ‘तर पार्टी र मुलुकको नेता अध्यक्ष नै हो ।’ पूर्वप्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईनिकट नेता टोपबहादुर रायमाझी पनि अध्यक्ष दाहालकै नेतृत्वमा निर्वाचनमा होमिने बताउूछन् । उनले पनि आगामी केन्द्रीय कमिटी बैठकले यसको टुंगो गर्ने बताए ।
एमाओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएर यसको संकेत गरिसकेको छ । भावी नतिजा र समीकरण हेरेर निर्वाचनपछिका दिनमा भट्टराईलगायत अन्य नेताले पनि मुलुकको कार्यकारी पदमा आकांक्षा देखाउन सक्नेछन्, दाबी गर्नेछन् । तर चुनावमा भने उनीहरू मिलेरै जाने देखिन्छ ।
छिमेकी मुलुक भारतमा निर्वाचनअघि नेताहरूको पनि नेता तोक्ने प्रचलन छ । नेपालमा ०५६ को संसदीय निर्वाचनमा कांग्रेसले संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो, भलै सात महिनापछि उनलाई सत्ता छाड्न बाध्य पारेर कोइराला प्रधानमन्त्री बने । त्यसबेला आफूहरूले पनि अध्यक्ष मनमोहन अधिकारीलाई अघि सारेको तर बीचमै उनको निधन भएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।
भारतीय जनता पार्टीले गत साता गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई चुनावी अभियानको नेता बनाएपछि वरिष्ठ नेता लालकृष्ण आडवाणी रुष्ट भए । पार्टीका विभिन्न जिम्मेवारीबाट राजीनामा दिए । पछि राजीनामा फिर्ता लिए पनि उनको असन्तुष्टि प्रस्ट देखियो । आडवाणीलाई थामथुम पारिए पनि भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक एआएन्स (एनडीए) बाट जनता दल युनाइटेड अलग भयो ।
भारत बिहारमा भाजपासूग मिलेर सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री नीतिशकुमारको मोदीप्रतिको असन्तुष्टिका कारण गठबन्धन टुटेको हो । कांग्रेस आईलगायतको सहयोगमा नीतिशकुमारले प्रान्तीय सरकार प्रमुखका रूपमा विश्वासको मत लिइसकेका छन् । एमाओवादीले पनि यसअघि सरकारमा रहूदा प्रमुख मधेसवादी तथा साना दलको मोर्चा बनाएको थियो । मोर्चाका अन्य घटकहरूले नमान्ने अवस्थामा पनि एमाओवादीले दाहाललाई अघि सार्ने निश्चित छ ।
तर के औपचारिक मोर्चा नबनाएका कांग्रेस- एमालेलगायतका पार्टीले आफैंभित्रबाट भावी नेतृत्व प्रस्तुत गर्न सक्छन् ? सकभर हाम्रो नेता यो हो भनेर अघि सार्नु राम्रो हुने कांग्रेस नेता विमलेन्द्र निधि बताउँछन् । ‘तर पार्टीको आन्तरिक समीकरण मिलाउन सहज छैन । हाम्रो मात्र नभई धेरै पार्टीमा प्रधानमन्त्रीका आकांक्षी र योग्य उम्मेदवार दुई, तीन जनासम्म भएकाले एक जनालाई तोकेर जान गाह्रो छ,’ उनले भने ।
कांग्रेसमा नेतृत्वको दाबी गर्ने तीन नेता छन्, सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल । माधव नेपाल नेतृत्वको सरकार विघटनपछिको अनिणर्ीत चुनावी प्रतिस्पर्धामा एक्लै भए पनि १७ पटकसम्म भिडेका पौडेल तीनमध्ये केही कमजोर देखिन्छन् । संविधानसभा विघटनपछि सहमतीय सरकारको उम्मेदवारी प्रस्तुत गरेका कोइराला पनि प्रधानमन्त्री नभएपछि केही गलेका छन् । यद्यपि पार्टी सभापतिको रूपमा उनको पकड कमजोर भइसकेको छैन ।
भारतले हालै निम्त्याएर उच्च सम्मान दिएपछि बाहिर देउवाको स्थिति बलियो बनेको देखिएको छ । तर पार्टीभित्रैबाट कोइराला र पौडेलले उनलाई सहजै स्वीकार्ने सम्भावना देखिूदैन । कोइरालाले अघिल्लो निर्वाचनमा लज्जास्पद हार बेहोरेका थिए । दुई स्थानबाट चुनाव जितेकाले पनि देउवाले अहिलेको चुनावका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्, आफूनिकटमार्फत ।
भारतबाट फर्केलगत्तै यथास्थितिमा निर्वाचन बहिष्कार गछौर्ं भनिरहेका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य, फोरम अध्यक्ष यादव र संघीय समाजवादीका अध्यक्ष अशोक राईसूग उनले परामर्श थालेका छन् । सूगै भारत गएका नेता निधिलाई साथमा लिएर उनले गरेको भेटघाट पार्टीगतभन्दा पनि ‘अब म अघि सर्छु, भारतलगायत अन्तर्राष्ट्रिय समुदायले पनि मलाई विश्वास गरेका छन्’ भन्ने देखाउन गरिएको एक कांग्रेस नेताले बताए । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले छिट्टै पार्टी बैठक बसेर चुनावी रणनीतिलगायत धेरै कुरा तय गरिने बताए ।
एमालेमा पनि स्पष्ट तीन धार छ । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली सहजै एक- अर्कालाई भावी नेता स्वीकार्ने पक्षमा छैनन् । पछिल्लो समय खनाल र ओली नजिकिए पनि कुनै एकलाई स्वीकार्ने अवस्था छैन । अघिल्लो समयावधि पूरा हूुदै गएकाले एमालेको महाधिवेशन पनि नजिकिूदै छ । चुनावी र पार्टीको भावी नेतृत्वमा तीन नेतामध्ये दुईबीच सहमति बनिहाले पनि तेस्रोले स्वीकार्ने देखिूदैन ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली फेरि पनि संविधान निर्माण प्रमुख मुद्दा भएकाले सरकार प्राथमिकतामा नपरेको बताउूछन् । तर पार्टीको आन्तरिक समीकरणकै कारण कुनै एक नेतालाई अघि सार्न गाह्रो हुने स्वीकार्छन् । भन्छन्, ‘पार्टीका आन्तरिक कारणले चुनावका लागि कुनै एक नेता अघि सार्ने कुरामा असर गरेको छ । जसको नाम अघि सार्यो, त्यही पक्षमात्र सक्रिय र अरू पक्ष निष्त्रिmय रहने खतरा पनि रहन्छ ।’
डेढ दर्जनभन्दा बढीको संख्यामा विभाजित मधेसवादी दलहरूको एउटै केन्द्र बन्न कठिन छ । यद्यपि बाह्य सद्भावमा तमलोपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सकेसम्म बढी मधेसवादी दललाई सहभागी गराई मोर्चाबन्दी गर्ने प्रयास भइरहेको छ । संविधानसभा निर्वाचनयता दुई- दुईपटकसम्म उपप्रधानमन्त्री बनिसकेका फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारमा पनि मधेसको दाबी प्रस्तुत गर्दै एकपटक प्रधानमन्त्री बन्ने रहर देखिन्छ ।
‘मूलधारका एउटै पार्टीमा त दुई, तीन धार देखिएका छन् । यतिको संख्यामा विभाजित मधेसवादी दल एउटै मोर्चामा समाहित हुन र एउटै व्यक्तिलाई अघि सार्न सम्भव छैन,’ लोकतान्त्रिकका एक नेताले भने, ‘फेरि पनि मधेसवादी दलका नेताहरू भावी प्रधानमन्त्रीमा च्याूखे थाप्ने अवस्थामा पुग्नेछन् ।’