काठमाडौं – लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्चमा चलिरहेको मुद्दा पेसीमा त चढ्छ तर जहिल्यै ‘हेर्न नमिल्ने’ इजलासमा पर्छ । न्यायाधीश भरतबहादुर कार्की संलग्न इजलासमा कार्कीसम्बन्धी मुद्दा हेर्न नमिल्ने भनी दुई/दुई पटक सरिसक्दा पनि पेसी तोक्ने जिम्मेवारी पाएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आइतबार फेरि उनैको इजलासमा पारिदिए ।
परिणाम उही दोहोरियो, कार्कीको मुद्दा ‘हेर्न मिलेन भन्दै’ न्यायाधीश इजलासमा बसेनन् । तयारीसहित बहसमा गएका अधिवक्ताहरू हिस्स परेर सर्वाेच्चबाट फर्किए । ‘यति गम्भीर र संवेदनशील प्रकृतिको संवैधानिक मुद्दामा बारम्बार उही हेर्न नमिल्ने इजलासमा पारिदिएर हैरानी दिने काम भयो,’ जनआन्दोलनका दोषी कार्कीलाई अख्तियारमा गरेको नियुक्ति असंवैधानिक भएकाले खारेज गरिपाऊँ भनी परेको रिट दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले दिकदारी पोखे, ‘यो त ठूलै मजाक भयो ।’
कार्कीको मुद्दा सुनुवाइ नै नभई सरेको यो लगातार चौथो पटक हो । पहिलो पेसीमा इजलास बस्न समय नै पुगेन भने बाँकी लगातार न्यायाधीश कार्कीकै इजलासमा परेर हेर्न मिलेन । आइतबार न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र कार्कीको इजलासमा उक्त मुद्दा परेको थियो ।
न्यायाधीश कार्कीले आफू सर्वोच्चमा नियुक्त हुनुअघि मिलेर नेपाल ल र्फमबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले कार्कीविरुद्ध बहस गर्ने भएकाले ‘हेर्न नमिल्ने’ भनी पन्छाएका हुन् । यसअघि असार २ गते आइतबारै न्यायाधीशद्वय गिरीशचन्द्र लाल र भरतबहादुर कार्कीको इजलासमा यसलाई तोकिएको थियो ।
त्यसअघि जेठ २१ मा पनि न्यायाधीशद्वय लाल र कार्कीकै इजलासमा उक्त मुद्दा तोकिएको थियो । अघिल्ला दुवै पटक पनि त्यही कारण देखाएर कार्कीले उक्त मुद्दा आफूले ‘हेर्न नमिल्ने’ बताएका थिए । हेर्न नमिल्ने भनेर पन्छिसकेकै न्यायाधीशको इजलासमा फेरि पनि मुद्दा पर्नु भनेको यसको सुनुवाइलाई सकेसम्म पर धकेल्न खोज्नु भएको कानुनविज्ञहरू बताउँछन् । कार्की नियुक्त भएको भोलिपल्टै अर्यालले उक्त रिट दायर गरे पनि सर्वोच्चले उनी अख्तियारमा पुगिसकेपछि मात्रै दर्ता गरिदिएको थियो । दर्ता भएपछि त्यसमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद शाहले रिटले मागेअनुसार अन्तरिम आदेश दिनुपर्ने/नपर्ने भन्नेबारे दुवै पक्षलाई जेठ १० गते अदालतमा आउन आदेश दिएका थिए ।
जेठ १० गते न्यायाधीश वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासमा उक्त रिट सातौं नम्बरमा पेसी चढेको थियो । तर तेस्रो रिट हेर्दैमा समय सकिएपछि सुनुवाइ हुन सकेन । त्यसपछि सर्वोच्चले २१ गतेका लागि यसको पेसी तोकेको थियो । त्यस दिन पनि हेर्न नमिलेपछि असार २ गतेका लागि तोकिएको थियो । असार २ गते पनि हेर्न नमिलेपछि आइतबारका लागि मुद्दाले पेसी पाएको थियो । आइतबार पनि उही कारणले सरेपछि असार १८ गतेका लागि अर्को पेसी तोकिएको छ ।