काठमाडौ- निर्वाचन घोषणालगत्तै एमाओवादीले सबै मुख्य नेताहरूलाई प्रत्यक्ष निर्वाचनमै उठाउने तयारी थालेको छ । यसअघि समानुपातिकबाट सभासद भएकाहरूलाई समेत उसले प्रत्यक्षमा भिडाउने आन्तरिक तयारी अघि बढाएको छ । त्यसबारे पार्टी ‘हेडक्वाटर’ मा अनौपचारिक छलफल सुरु भएको छ ।
प्रत्यक्ष निर्वाचित हुँदा त्यसको थप महत्त्व हुने भन्दै वरिष्ठ नेताहरूले आफू निर्वाचन लड्ने क्षेत्रको समेत लेखाजोखा गर्न थालेका छन् । असार दोस्रो सातादेखि केन्द्रीय समिति बैठक विशेषगरी निर्वाचनमा केन्दि्रत हुने भएकाले त्यसमा वरिष्ठ नेताहरूको निर्वाचन क्षेत्रबारे छलफल गर्ने तयारी छ ।
विघटित संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गरेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रत्यक्षमा भिड्ने मनस्थिति बनाएका छन् । ‘मुख्य नेतृत्व प्रत्यक्षमा भिड्ने अनौपचारिक कुरा भइरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘सम्भवतः त्यही निर्णय हुन्छ ।’
श्रेष्ठ र उपाध्यक्ष बाबुराम भट्टराई दुवैको गोरखा निर्वाचन क्षेत्र नं. २ हो । गएको संविधानसभा निर्वाचनमा भट्टराईले उक्त क्षेत्रबाट सबैभन्दा धेरै मत ल्याएका थिए । गोरखा भट्टराईलाई छाडेर श्रेष्ठ ललितपुरको कुनै क्षेत्रबाट उठ्ने सम्भावना छ ।
अध्यक्ष पुष्पकमल दाहालले मधेसबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मधेस कुन जिल्लाबाट उम्मेदवारी दिने टुंगो भइसकेको छैन । यसअघि रोल्पा २ र काठमाडौं १० बाट विजयी भएका उनी यसपटक चितवन र पूर्वी मधेसबाट उम्मेदवारी दिने सम्भावना रहेको स्रोतको भनाइ छ ।
महासचिव पोस्टबहादुर बोगटीले फेरि पनि नुवाकोट ३ मा उम्मेदवारी दिने छन् । पूर्वस्थायी समिति सदस्यहरू वर्षमान पुनले रोल्पा क्षेत्र नं. २ वा ललितपुर १ बाट उम्मेदवारी दिने दोधारमा छन् । सकभर उनी रोल्पाबाट उम्मेदवारी दिने पक्षमा छन् । आफू अर्थमन्त्री हुँदा उनले रोल्पालाई प्राथमिकतामा राखेर बजेट पठाएका थिए । रोल्पा २ बाट पूर्वलडाकु प्रमुख नन्दकिशोर पुनले पनि इच्छा देखाएका छन् । त्यसो भयो भने वर्षमानले ललितपुरबाट उम्मेदवारी दिनेछन् ।
पूर्वस्थायी समिति सदस्यहरू अमिक शेरचनले चितवन ५, टोपबहादुर रायमाझीले अर्घाखाँची १ क्षेत्र छाड्ने पक्षमा छैनन् । नेता कृष्णबहादुर महरा पुरानै दाङ ३ बाट उम्मेदवारी दिने तयारीमा छन् । त्यसका लागि उनले आफ्नो छोरा एटमलाई क्षेत्रीय इञ्चार्ज बनाएर पठाएका छन् । उनीहरूले ती क्षेत्रमा शक्ति प्रयोग गरी बजेट बढी पठाएका छन् ।
स्थायी समिति सदस्य दीनानाथ शर्मा, नेता देवेन्द्र पौडेलले प्रत्यक्ष उम्मेदवारी दिन बागलुङतिर आँखा लगाएका छन् । नेता अग्नि सापकोटा सिन्धुपाल्चोक २, हरिबोल गजुरेल सिन्धुली ३ बाट उम्मेदवारी दिने तयारीमा छन् । गजुरेल यसअघि सभासद थिएनन् । नेता जनार्दन शर्मा रुकुम २, पूर्वलडाकु डेपुटी कमान्डर चन्द्रप्रकाश गजुरेल कपिलवस्तुबाट चुनाव लड्ने मनस्थितिमा छन् । पार्टीभित्र प्रभावशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्र पाउन लबिङ सुरु गरिसकेको स्रोतको भनाइ छ ।