अहिले के लेख्दै हुनुहुन्छ ?
उपन्यास नै लेख्दै छु । सुदूरपश्चिममा कुसंसस्कारको रूपमा रहेको छाउपडी विषय अबको उपन्यास बनेर आउँदै छ ।
तपाईंको दोस्रो उपन्यास ‘नांगो मान्छे’ त निकै फ्लप भयो भन्ने बजार हल्ला छ नि † किताबका थुप्रै प्रति गोदाममा थन्किएका छन् रे †
पत्रपत्रिकामा चर्चा नहुनु र दुईचार लेखकले आफूलाई चर्चित बनाउन अरूको कृति फ्लप भयो भनेर कुर्लदै हिँड्नुलाई नै फ्लप भन्ने हो भने त भन्न सकिएला, होइन भने ‘कुमारी आमा’ पढेका सबैजसो पाठकले नांगोमान्छे पढेका छन् । र गोदाममा किताब थन्किएको भए प्रकाशकले दोस्रो संस्करण निकाल्ने तयारी किन गर्थे ?
पाठकहरू तपाईं जति सुन्दर हुनुहुन्छ, लेखाइ त्यति सुन्दर छैन भन्छन् । कत्तिले तपाईं मोडलिङतिर लाग्नुपर्ने सुझाव पनि दिएका छन् रे नि †
मैले के गर्दा उचित हुन्छ भन्ने कुरा मैले नै निर्धारण गर्ने हो । कसैले भनेको भरमा म आफ्नो निर्णय लिने गर्दिनँ । म मेरो सौन्दर्यको चर्चा गर्नेहरूलाई के भन्न चाहन्छु भने तपाईंहरूले मेरो सौन्दर्यभन्दा पनि एकपटक गहिरिएर मेरा पुस्तक पढ्नु’स । विश्वास छ त्यसपछि तपाईंले मलाई लेख्न छाडेर मोडलिङको सुझाव दिनुहुने छैन ।
तपाईंको पहिलो उपन्यास ‘कुमारी आमा’ कुनै रिपोर्टिङ वा फिचरजस्तो छ, उपन्यासजस्तो छैन भन्नेहरू पनि छन् नि †
‘कुमारी आमा’ न रिपोर्टिङ हो न फिचर, त्यसलाई यदि कसैले रिपोर्टिङ भन्छ भने त्यो मान्छेले कि त साहित्यको भाषा बुझ्दैन कि त्यसले नपढी भनेको छ । तपाईं आफैँ सोच्नु’स ‘कुमारी आमा’ रिपोर्टिङ कसरी हुन सक्छ ? कहाँ गएर गर्ने कुमारी आमाको रिपोर्टिङ ? यस्तो ननसेन्स कुरा भन्ने मान्छे न सही पाठक हो न वास्तविक लेखक ।
नेपाली भाषाको एउटा सर्वश्रेष्ठ उपन्यास कुन हो ? किन ?
‘पागलवस्ती’ किनकि त्यसमा, समाज र मान्छेको जीवनका दार्शनिक अभिव्यतिm छन्, जसले पाठकलाई एकपटक आफ्नो चेतनाको स्तर कहाँनेर छ, बुझ्नका लागि झक्झक्याउँछ ।
कथाकार बढी दु:खी हुन्छन् भनिन्छ † तपाईं कत्तिको दु:खी हुनुहुन्छ ?
जीवनमा द:ख र सुखको मापन कसरी गर्ने भन्ने प्रन्न उठ्छ ? मेरो अर्थमा अहिलेसम्म सुख र दु:ख बराबर भएर आएका छन् ।
तपाईंलाई कुनबेला महिला हुनुमा अत्यन्त गर्व महसुस हुन्छ ?
मलाई महिला हुनुमा जुनबेला पनि गर्व महसुस हुन्छ । तर, स्पेसल्ली भन्नुपर्दा, जब म कुनै पनि कामका लागि लोग्ने मान्छेसँगै मैदानमा उत्रिन्छिु त्यतिबेला मलाई विशिष्ठ आनन्द महसुस हुन्छ ।
दोस्रो उपन्यास ‘नांगोमान्छे’ तपाईंको वास्तविक लेखाइ हो कि कसैको जीवनमाथि गरिएको सतही कल्पना ?
‘नांगोमान्छे’ अहिलेको समाजको वास्तविक चित्र हो, जुन सतही कल्पना मात्र हुन सक्दैन । गहिरिएर हेर्ने हो भने नांगोमान्छे, हरेक मान्छेले आफ्नै आँगनवरिपरि भेट्टाउने छन् ।
अधिकांश कथाकार घटना मात्र प्रस्तुत गर्छन् । कतिपयचाहिँ घटनाबाट टाढा भएर सिद्धान्त मात्र फलाक्छन् । साहित्यमा सिद्धान्त र आख्यानको सन्तुलन कसरी तय गर्ने ?
लेखनमा घटनासँगै वैचारिक सिद्धान्त पनि उत्तिकै महत्त्वपूर्ण विषय हुन्, जसलाई सुन्दर संयोजन कला र शिल्पले गर्ने गर्छ । लेखकले घटना र सिद्धान्त जत्तिकै कला र शिल्पलाई पनि ध्यान दिएर लेख्ने हो भने साहित्यमा सिद्धान्त र घटनाको सही सन्तुलन हुनेछ ।
तपाइंको उपस्थितिले नेपाली साहित्यलाई फाइदा के/घाटा के ?
त्यो त मैलेभन्दा पनि समय र समाजले भन्ने कुरा हो । मैले दिने योगदान भनेको मेरो कलमको लेखनी नै हो ।
यहाँ कस्तो साहित्य लेखियो भन्दा पनि कसले लेख्यो भन्नेमा बढी चासो राखिन्छ । यस्तो किन हुन्छ ?
अनावश्यक प्रचारप्रसार र मिडियाको दुरुपयोगले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाइरहेको छ । हल्लाको भरमा आफूलाई महान् लेखक सम्झिने र हल्लाकै भरमा लेखकीय स्तर निर्धारण गरिनुले कस्तोभन्दा पनि कसले लेख्योमा चर्चा र चासो बढी रहेको छ । गम्भीर अध्ययन नगर्ने र नपढिकनै टीकाटिप्पणी गर्ने हाम्रो साहित्यिक समुदाय प्रसस्त बदनियत, गुटबन्दी, र प्रचारबाजीको सिकार भएको छ ।
आफ्ना उपन्यास र कथाहरूको लामो आयुप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
त्यो त समयले पनि देखाउला, तर अहिलेको सन्दर्भमा म पूर्ण विस्वस्त छु । मेरा कृति पछिसम्म पढिने छन् ।
कथामा आवेग जरुरी हुन्छ कि विवेक ?
एउटा उत्कृष्ट कथा सिर्जना गर्दा आवेग र विवेक दुवै कुराको आवश्यकता पर्छ । कथा, उपन्यास भनेको मान्छेको जिन्दगीका महत्त्वपूर्ण पाटो समेटिएको कागज हो । यसलाई जीवन्त बनाउन आवेग र विवेक दुवैको उत्तिकै महत्त्व रहन्छ ।
पछिल्लो समय पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको कथासंग्रह कुन हो ?
डा. ध्रुवचन्द्र गौतमको ‘बीच बजारमा मुद्राबोध’ । समाजिक जीवन र मानवीय संकटका विषयमा लेखिएका कथाहरू निकै प्रभावकारी लाग्यो ।
जीवनमा ‘स्त्री/पुरुष’बीचको यौनको स्थान कहाँनिर पाउनुभो ?
यस प्रश्नको उत्तर सही उत्तर दिन म यौन मनोवैज्ञानिक त होइन । तर पनि हाम्रो समाजमा पुरुष इगो र महिला निरिहताका बीच रहेको यौनमा सुखभन्दा शोषण बढी हुने गरेको पाइन्छ ।
पति हुँदाहुँदै अरूसँग यौन सम्बन्ध राख्नुलाई तपाईं के भन्नुहुन्छ ?
सरासर हेर्दा त मानसिक विचलन नै लाग्छ तर कारकहरू प्रशस्त हुन सक्छन् । बद्लिँदै गएको समाजिक अवधारणा र विकास र प्रविधिको प्रभाव, बढ्दै गएको असन्तुष्टिको यात्रा जस्ता धेरै कारणहरू छन् जसले मान्छेलाई विचलनको बाटोमा हिँड्न प्रेरित गरिरहेको छ ।
तपाईंलाई गम्भीर साहित्यतिर रुचि जाँदैन कि के ? किन ‘कुमारी आमा’, नांगोमान्छे’ टाइपका सस्ता विषयतिर मोडिनुहुन्छ ?
समाज र मान्छेको जीवन छाडेर तपाईं कुन विषयलाई गम्भीर साहित्य भन्नुहुन्छ त्यो मैले बुझ्न सकिन । तर ‘कुमारी आमा’ र ‘नांगो मान्छे’ दुवै गम्भीर विषयमा लेखिएका उपन्यास हुन् । जो अध्ययन गरेको कुनै पनि पाठकले यसलाई सस्तो विषय भन्न सक्दैन र भनेका पनि छैनन् । तपार्इंले भनेजस्तो सस्तो विषय हुन्थ्यो भने एमएका तेह्र चौध जना विद्यार्थीले कुमारी आमा माथि थेसिस गर्ने थिएनन् । कुमारी आमा महिला र प्रजनन अस्तित्वको खोजीमा लेखिएको उपन्यास हो भने नांगो मान्छे आजको बद्लिँदो समाजका मान्छेको मानसिकता, चाहना र सपना देख्ने मन र शरीर बीचको अन्तरद्वन्द्वलाई प्रस्ट्याइएको उपन्यास । यसलाई लेख्नु एक किसिमको चुनौती पनि थियो । त्यसैले अध्ययनबिना नै शब्दको गलत अर्थ लगाउनु सही पाठक वा लेखकको धर्म होइन । कम्तीमा एकपटक पढेर मात्रै त्यसको व्याख्या गर्नुहुन मेरो आग्रह छ । साहित्यमा नांगोको अर्थ लुगा खोल्नु मात्रै हुँदैन । चेतनाको र मान्छेको अस्तित्वमा देखिँदै गएको नांगोपन पनि बुझ्न जरुरी हुन्छ ।
सौर्य दैनिक