सञ्जय पण्डित – गत बर्ष सगरमाथाको शिखरभन्दा केही तल पुगेर पनि शिखर चुम्न नसकेको पिडा बिर्साउनलाई मैंले यस पटक पनि सगरमाथा आरोहण गर्ने निर्णय गरेको हुँ ।
यस पटक मैंले सगरमाथा शिखर चुमें । शिखर चुमेपछि मैंले आफूलाई गौरवान्वित अनुभव गरेको छु ।
सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेपछि अर्कै अनुभव हुँदो रहेछ । आफू सवैभन्दा माथि पुगेको अनुभुति । माथि पुगेपछि सवै चिज तल देखिने । अरु आरोहीले पनि यही अनुभव गर्छन् । शिखर चुमेपछिको अनुभवलाई व्यक्त गर्न मसँग अहिले कुनै शब्द नै छैन ।
तर मैंले यो आरोहणका क्रममा फरक अनुभव पनि गरेको छु । शिखर पुग्नेबेलामा शिखरभन्दा २५ मिटर तल झण्डै ५ मिनेटको दुरी थियो होला । त्यहाँ पुगेपछि मेरो अक्सिजनको रेगुलेटर विग्रियो जसका कारण मलाई अक्सिजनको अभाव भयो । अक्सिजन राम्ररी ‘सप्लाई’ हुन नसकेपछि श्वास फेर्न निकै कठिन भयो । दिमागले केही सोच्नै सकेन । दिशा पिसाव लागेको जस्तो भयो ।
यस्तो अपत परेको बेलामा कर्मा शेर्पाले आफूले प्रयोग गरिरहेको अक्सिजन मलाई दिए । त्यसपछि मैंले अर्को जन्म पाएको अनुभव गरें । साथै गाइड छेपाल शेर्पाले पनि खुब हौसला दिए । यति साथ सहयोग नपाएको भए म अहिले यो ठाउँमा हुने थिइन । म त्यै सगरमाथाको भूमिमा चिसो हिउँको सिरक ओढेर चिर निन्द्रामा सुतिरहेको हुन्थें ।
कसैले सहयोग गर्दैन
जुन स्थानमा पुगेपछि मेरो अक्सिजन रेगुलेटरमा समस्या आएको थियो, त्यो ठाउँमा पुगेपछि कसैले कसैलाई सहयोग गर्दैनन् । नजिकै देखिएको शिखर चुम्ने अभिलाषाले आरोहीहरु पागल जस्तै हुन्छन् । धेरै थाकेका हुन्छन् आरोहीहरु । नाकमा बसेको झिंगा धपाउने जाँगर पनि हुन्न । उनीहरुले शिखर बाहेक केही देख्दैनन् । त्यसैले छेऊमै आफ्नै सन्तानले बचाउ-बचाउ भनिरहेको छ भने पनि उनीहरु बचाउनतिर लाग्दैनन् । यस्तो अवस्थामा पनि छेपाल र कर्मा शेर्पाले गरेको सहयोग म जीवनभर भुल्न सक्दिन ।
गाइडको मृत्युले दियो चोट
अरोहणमा मलाई सहयोग गर्ने मेरा गाइडको आरोहणकै क्रममा निधन भयो । चौथो शिविरमा हाम्रो सामान पुर्याएर तल फर्कने क्रममा मेरो गाईड लोप्साङ शेर्पाको लडेर निधन भयो ।
यसले मलाई धेरै दुःख लागेको छ । एकदमै बलिया र साहसी थिए उनी । आरोहणकै क्रममा हामी राम्रो साथी बनेका थियौं । भर्खरैमात्र आत्मीय सम्बन्ध स्थापित भएको व्यक्ति गुमाउँदाको दुखद अनुभव अरु के सुनाउनु र खै ? लोप्साङको निधनपछि मैंले छेपाल शेर्पा र कर्मा शेर्पालाई सहयोगी पाएको थिएँ ।
काठमाडौंको जाम त के जाम ?
सगरमाथा आरोहणका क्रममा हुने जामले मलाई काठमाडौंमा हुने ट्राफिक जामलाई विर्साइदियो । काठमाडौंमा हुने गाडीको जाम त के जाम हो र ? सगरमाथामा त मान्छेकै त्यो भन्दा लामो र धेरै जाम हुँदो रहेछ ।
हिलारी स्टेपमा डोरीको माध्यमबाट माथि जानु पर्छ । शिखरमा पुगेर फर्कने मान्छे पनि त्यही डोरीको माध्यमबाट तल झर्छन । तर शिखर चढ्ने र शिखरबाट ओर्लने मान्छे एक एक गरेर त्यहाँबाट पार गर्नुपर्ने हुँदा कहिले कहीँ त दुई–चार घण्टा नै पालो पर्खनु पर्छ ।
यसरी पालो पर्खदा अक्सिजन सकिने तथा आफूले बोकेको खाना पनि सकिने हुन सक्छ । त्यो जाम छिचोलेर माथि पुगेपछि अक्सिजन सकियो भने उसले थप अक्सिजन पाउने सम्भावना निक्कै कम हुन्छ । किनकी अक्सिजनको सिलिण्डर तलबाट लैजानु पर्ने हुन्छ । माथि अक्सिजन लैजानका लागि यो जाम छिचोल्न निक्कै समय लाग्छ ।
फोहोर देखेर खाना रुचेन
चौथो शिविरमा पुगेपछि मलाई सवैभन्दा धेरै दुःख लाग्यो त्यहाँको फोहोर देखेर । बाटोमा जाँदा देखिएका आरोहीका शव र ति शव नाघ्दै मास्तिर लागेको मलाई चौथो शिविरमा पुगेपछि खाना खान मन लागेन ।
चौथो शिविर पनि निक्कै फोहोर थियो । आरोहीको ज्यान जानु सामान्य ठान्ने मलाई ति शव देखेर भने निक्कै दुःख लाग्यो । फोहोरको घिनले खाना नै रुचेन ।
छैन राज्यको उपस्थिती
सगरमाथाले विश्वमा नेपाललाई चिनाएको छ । यही सगरमाथाबाट सरकारले आम्दानी पनि गरिरहेको छ । तर त्यहाँ राज्यको कुनै उपस्थिती छैन । मानिसहरु सरकारसँग अनुमति नै नलिई र सरकारलाई कुनै शुल्क नै नतिरी सगरमाथा गएको पनि मैंले पाएँ । झण्डै १५ देखि २० प्रतिशत आरोही सरकारलाई कुनै जानकारी नै नगराई सगरमाथा चढ्छन ।
यसरी चढ्नेमा विदेशी धेरै छन् । आरोहण गराउने एजेन्सी र आरोही मिल्यो भने सरकारलाई सजिलै छल्न सक्छन् । जो जसरी चढेपनि हुन्छ ।
यसबाट राज्यले ठूलो रकम गुमाइरहेको छ । मेरो सुझाव सरकारलाई के छ भने सिंहदरवारबाट निस्किएर सगरमाथाको आधार शिविरमा पनि पुग्नु पर्यो । सरकारसँग अनुमति लिएरै आरोहण गर्नेहरुबाट सरकारले शुल्क लिन्छ । तर त्यो शुल्क तिर्ने आरोहीले कुनै सुविधा पाउँदैनन् ।
त्यहाँ धेरै असुविधा छ । यो असुविधा भोगेका विदेशीले सगरमाथाको बारेमा विदेशमा आफ्नो असुविधाको अनुभव सुनाउँदा नेपालकै बारेमा पनि गलत सन्देश जान सक्छ ।
काठमाडौंका होटलमा होइन आधार शिविरमा मनाउनु पर्छ सगरमाथा दिवस
तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिखमा सगरमाथा दिवस मनाइन्छ । यस पटक त ६० वर्ष पुगेको अवसरमा हिरक महोत्वस नै मनाउन लागिएको छ । तर यो महोत्सव काठमाडौंमा मात्र केन्द्रित हो कि जस्तो लाग्छ मलाई ।
नाम्चे बजार र आधार शिविरमा केही कार्यक्रम त हुन्छन् तर सरकार, सरकारका मन्त्री र सचिवहरु त्यहाँ जाँदैनन् । उनीहरुको उपस्थिती हुन्छ त काठमाडौंका होटलमा मात्र । त्यसैले म के भन्छु भने सरकारले सगरमाथाको आधार शिविरमा कार्यक्रम गर्नु पर्छ । त्यहाँ सरकारको उपस्थिती हुनु पर्छ ।
फेरियो योजना
सगरमाथा आरोहणपछि मेरो योजना पनि फेरिएको छ । यसअघि अल्ट्रा रनर भनेर चिनाउने मैंले अब यो क्षेत्र छोड्ने निर्णय गरेको छु । मैंले राष्ट्रिय खेलकुद परिषद र समग्र खेल क्षेत्रको प्रतिनिधित्व पनि गरेको थिएँ । चुचुरोमा हिउँले हातका औंला खाँदासमेत मैंले खेलकुद परिषदको झण्डा फहराएँ । तर परिषदले कुनै वास्ता गरेन ।
मलाई अहिलेसम्म परिषद अर्थात खेल क्षेत्रबाट कुनै ‘रेस्पोन्स’ आएको छैन । त्यसैले पनि खेल क्षेत्रमा लागिरहने र आफुलाई खेलाडी भनेर चिनाउने मेरो मन मरेर आयो । परिषदले एउटा विज्ञप्ति निकालेर धावक पण्डित सगरमाथा चुचुरोमा पुगे भनेर समेत भन्न सकेन वा भ्याएन । त्यसमा मलाई दुःख लागेको छ ।
आमाको सुन कर्जामा
प्यूठान विजुवारको सामान्य किसान परिवारको छोरा मलाई घर परिवारले सगरमाथा आरोहणका लागि लगानी गर्न सक्ने अवस्था थिएन । आर्थिक श्रोत जुटाउने क्रममा मैंले धेरैजनासँग सम्पर्क पनि गरें र केही जुटाए पनि । मेरो सगरमाथा आरोहणलाई धेरैले सहयोग गर्नु भएको छ ।
मैंले आमाको सुन कर्जामा राखेर सगरमाथा आरोहणको अभियान थालेको थिएँ । घर परिवारले ठूलो सहयोग गर्नुभएको छ । अब केही कमाएर आमाको कर्जाको सुन निखनेर आफ्नो जिम्मेवारी पूरा गर्नु छ ।
र अन्त्यमा
प्यूठानका नागरिकले सञ्जय पण्डितको सफलताको लागि प्रार्थना गरेका छन् । मेरो सफलमामा सवै नेपालीको सहयोग र साथ त छँदै छ, त्यसमा पनि प्यूठानका नागरिकको भने ठूलो सहयोग छ । मैंले सगरमाथा पुगेर आफू जन्मेको ठाउँ प्यूठानको स्वर्गद्वारीको नाम जपेको छु ।
मैंले आरोहणमा भेटिएका धेरैलाई स्वगद्वारीको बारेमा बताएको छु । म जन्मेको ठाउँ भएकै कारणले होइन की स्वगद्वारी साँच्चिकै सुन्दर छ । त्यसैले म तपाईहरुलाई पनि एक पटक स्वर्गद्वारीको भ्रमण गर्न आग्रह गर्छु ।
– सुफल काफ्लेसँगको कुराकानीमा आधारित