विराटनगर– सरकारले सर्वसाधारणको गुनासो सुन्न प्रधानमन्त्रीको कार्यालयमै हेल्लो सरकार केन्द्र स्थापना गरेपछि स्थानीय प्रशासन सरकारी सेवा प्रदान गर्न गराउन सक्रिय हुन थालेको पाइएको छ ।
मोरङमा नागरिकहरूले सरकारी सेवा लिने क्रममा हैरान भएकाले हेल्लो सरकारलाई फोन ˆयाक्स र ई-मेलमार्फत उजुरीहरू गर्न थालेपछि समस्या समाधान गराउन जिल्ला प्रशासन कार्यालयमा निर्देशन भएपछि स्थानीय प्रशासन सक्रिय हुन थालेको हो ।
हेल्लो सरकारमा उजुरी भएपछि तत्काल प्रधानमन्त्रीको कार्यालयबाट आएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय मोरङले मङ्गलबार विराटनगरको गुद्रीबजारमा हुने ढकतराजुको अनुगमन गरी अवैध ढक तराजु प्रयोग गर्नेहरूलाई कारबाहीसमेत गरेको थियो ।
यसैगरी विराटगरस्थित कोसी अञ्चल अस्पतालमा भइरहेको अनियमितता र ढिलासुस्तीबारेमा पनि हेल्लो सरकारमा उजुरी परेको थियो ।
सोबारेमा पनि समस्या बुझेर समाधान गराउन निर्देशन आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले अस्पताल कर्मचारीहरूसँग बुधबार आवश्यक सोधपुछ गरी पारदर्शी र सहज सेवा दिने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।