नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले सोसियल साइन्समा स्नातक पास गरेर घर र्फकंदासम्म मास्टर हुन्छु भनेर सोचेका थिएनन् । कांग्रेसको स्थापनालगत्तै त्यससँग आबद्ध भएर राजनीतिमा होमिएका नेता गुरुङ विसं. ०१८ मा इलामस्थित घर पुगे । त्यसपछि उनलाई पढाउनै पर्ने बाध्यता आइलाग्यो ।
आफूलाई पढाएका गुरुले अपत्यारिलो सर्त राखेपछि शिक्षण पेसा अपनाउन आफू बाध्य भएको बताउँछन् उनी । सम्झँदै भन्छन्, ‘सोसियल साइन्समा स्नातक पास गरेर घर र्फकंदा पढाउँला भन्ने परिकल्पनासम्म पनि गरेको थिइनँ । मेरा गुरु पदमबहादुर देवान अहिलेको इलाम नगरपालिका-२ मा रहेको पद्म समसेरको पालामा स्थापना भएको पद्मोदय आदर्श माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको सचिव हुनुहुन्थ्यो । म घरमा पुगेको अर्को दिन बिहानै आएर मलाई पढाउन आग्रह गर्नुभयो । आग्रहसँगै भन्नुभयो, ‘तँैले पढाउँदैनस् भने म तेरो कारणले सचिव पदबाट राजीनामा दिन्छु ।’ त्यसपछि बाध्य भएर दुईचार दिन भए पनि पढाउँछु भनेर पढाउन सुरु गरेँ । आफ्नै कारणबाट राजीनामा दिने बताएपछि गुरुको मन राख्न दुईचार दिन पढाउनुपर्यो भनेर पढाउन सुरु गरेका गुरुङलाई त्यस स्कुलमा मास्टरको रूपमा लामो समय टिकाइराख्न विद्यालय व्यवस्थापन समितिका सचिव देवानले नयाँ जुक्ति अपनाए । देवानले विद्यालयको इतिहासमै पहिलोपटक गुरुङलाई नियुक्तिपत्र दिए । ‘बाठो मान्छेको जालमा परेपछि पनि के दुईचार दिनमा उन्मुक्ति पाउन सकिन्थो,’ गुरुङ सम्झँदै भन्छन्, ‘विद्यालयको इतिहासमै पहिलोपटक मलाई नियुक्तिपत्र दिनुभयो । त्यसपछि ०१८ देखि ०२९ सालसम्म -१२ वर्ष) पढाएँ ।’
गुरुङले विद्यालयमा कक्षा ६ देखि १० सम्म अंग्रेजी, विज्ञानको बायोलोजी र भूगोल पढाउन सुरु गरे । लामो समयसम्म पढाउनै पर्ने भएपछि उनले विद्यालयको अवस्था सुधारतर्फ ध्यान दिन थाले । ‘पढाउन सुरु गरेपछि पढाइका अलावा म अतिरिक्त क्रियाकलापमा पनि ज्यादा ध्यान दिन्थेँ । प्रत्येक शुक्रबार हामी विद्यार्थी जम्मा पारेर पढाउन, बहस गर्न र संगीत सिक्न लगाउँथ्यौँ । स्काउट पनि सुरु गरेँ । हरेक वर्ष वाषिर्कोत्सव गर्ने बानी बसालेँ । १६ जेठमा प्रत्येक वर्ष हामी वाषिर्कोत्सव गराउँथ्याँै । नाटक गर्ने/गराउने गर्दथेँ । नाटकका कारण सरकारको आँखी भएको थिएँ । कांग्रेसी हो भन्ने प्रचार सरकारबाट गरिएको थियो, तर मलाई केही गर्न भने सक्दैनथ्यो ।’ विद्यालयमा आफूले ल्याएका सुधारबारे गुरुङ भन्छन् ।
पद्मोदय आदर्श माध्यमिक विद्यालयमा उनले एमाले अध्यक्ष झलनाथ खनाल र विघटित संविधानसभाका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुवासचन्द्र नेम्वाङलाई पनि माध्यमिक तहमा पढाएका थिए । ७ देखि १० कक्षासम्म उनीहरूलाई अंग्रेजी, विज्ञानमा बायोलोजी र भूगोल पढाएको गुरुङले जानकारी दिए । गुरुङका अनुसार खनाल र नेम्वाङ क्लासमेट हुन् । ‘अहिलेका एमाले अध्यक्ष झलनाथ खनाल र विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैले अंग्रेजी, विज्ञानमा बायोलोजी र भूगोल पढाएँ,’ गुरुङ भन्छन्, ‘कक्षा ७ देखि १० सम्म पढाएको हँु ।’
कतिसालदेखि कतिसालसम्म हो, त्यो भने जानकारी नरहेको गुरुङले बताए । ‘यति सालदेखि यति सालसम्म हो भन्ने त बिर्सिएँ, तर मैले पढाउन छोडेको साल ०२९ मा उनीहरूले एसएलसी पास गरिसकेका थिए,’ उनले भने ।
स्कुलमा औसत थिए नेम्वाङ र खनाल
मैले माध्यमिक तहमा पढाउँदा वर्तमान एमाले अध्यक्ष झलनाथ खनाल र विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ दुवै धेरै टयालेन्ट पनि होइनन् र लोसे पनि थिएनन् । कुरा एकैपटकमा बुझी पनि हाल्दैनथे । धेरैपटक भनिरहन पनि पर्दैनथ्यो । मध्यम खालको भन्दा हुन्थ्यो । उनीहरू सबै विषयमा औसत थिए । मैले उनीहरूलाई अंग्रेजी, विज्ञान र भूगोल पढाएको हँु ।
एउटा संयोग
संयोग पनि कहिलेकाहीँ त ठयाक्कै जुर्छ भनेजस्तै विघटित संविधानसभाको सभामुखको पद नेम्वाङलाई मैले नै हस्तान्तरण गर्नुपर्यो । संविधानसभा निर्वाचन सम्पन्न भएपछि कुनै पनि पार्टीको बहुमत नभएकाले सबैभन्दा पाको उमेर भएकाले मैले संविधानसभाको अध्यक्षको आसनग्रहण गर्दथेँ । त्यसपछि दलहरूबीच सहमति भयो ।
सर्वसम्मत उसको नाम आएपछि मैले कुर्सी हस्तान्तरण गरेको हो । ऊ पनि इलामको म पनि इलामको । इलामेले इलामेलाई नै सार्यो भन्लान् भन्ने लाग्यो । हस्तान्तरण गर्दा इलामेलाई नै दिन पाइयो भनेर हस्तान्तरण गर्दा बडा राम्रो लाग्यो भनेको थिएँ । तर, मैले त्यसैवेला आग्रह पनि गरेको थिएँ । ‘घुमीफिरी रुम्झाटार’ भनेझै इलामेले इलामेलाई हस्तान्तरण गर्यो भनेर नभन्नुहोला, परिस्थिति यस्तै आयो । तर, त्यसवेला मैले पढाएको विद्यार्थीलाई दिन पाउँदा खुसी लाग्यो भनेर भन्न सकिनँ ।
खनाल प्रधानमन्त्री बन्दा..
झलनाथ खनाल प्रधानमन्त्री हुनुभन्दा अगाडि के गरौँ भनेर मसँग सल्लाह लिन आएका थिए । प्रधानमन्त्री बन्ने कुरा भइरहेको छ तपाईंले सल्लाह दिनुपर्यो भनेे । मैले बन भनेर शुभकामना दिएँ । त्यसवेला संयोगले मेरो पनि प्रधानमन्त्रीमा उम्मेदवार बन्ने चर्चा चलेको थियो । त्यो प्रसंग पनि कोटयाएका थिए । म पनि कोसिसमा छु के गरौँ गुरु भन्दै थिए । जवाफमा मैले दुवै कोसिस गरौँ जो हुन्छ, हुन्छ भनेको थिएँ । अन्तमा उनी प्रधानमन्त्री बने ।
उनी प्रधानमन्त्री भएपछि व्यवस्थापिका संसद्को पहिलो सम्बोधनमा भनेका थिए रे, मेरो गुरु कुलबहादुर गुरुङ पनि यही संसद्मा हुनुहुन्छ भनेर, तर मैले सुन्न भने पाइनँ । अरू ठाउँमा पनि भन्ने गरेका छन् । खुसी लाग्छ । आफूले पढाएको विद्यार्थी प्रधानमन्त्री र संविधानसभाको सभामुख भएका छन् भनेर भन्न पाउँदा गर्व लाग्छ । दुवैजना सँगै भएको कार्यक्रममा पनि उनले मेरा गुरु भनेर भन्ने गरेका छन् । एकपटक पोखराको कार्यक्रममा सँगै गएका थियौँ । म र ऊ स्टेजमा सँगै बसेका थियौँ, त्यसवेला पनि भनेका थिए । कहिलेकाहीँ भेट्न पनि आउँछन् ।
नेम्वाङ भेट्न आउँदैनन्
सुवासचन्द्र नेम्वाङ भेटघाट गर्न त आएका छैनन् । तर, व्यवस्थापिका संसद् र संविधानसभामा हुँदा राम्रो सम्मान गर्दथे । भेट हुँदाको समयमा भने आदर गर्ने गर्दछन् । त्यति गर्दा पनि खुसी लाग्छ ।
विद्यार्थीसँग चुनाव लडियो
सबैभन्दा रमाइलो प्रसंग त यो छ कि ०६४ मा भएको संविधानसभा निर्वाचनमा मैले आफैँले पढाएको विद्यार्थीसँग चुनाव लड्नुपर्यो । पद्मोदय आदर्श माध्यमिक विद्यालयमा पढाएको विद्यार्थी धर्म उप्रेतीसँग म इलामबाट चुनाव लडेको हुँ । ऊ एमालेबाट लडेको थियो, म कांग्रेसबाट । चुनाव भने मैले जितेँ । उप्रेती लएर प्रोफेसर छ । संविधानसभामा इलामबाट चुनाव लड्ने अन्य धेरै उम्मेदवार मैले पढाएका विद्यार्थी थिए । सुवास नेम्वाङ, झलनाथ खनाल, वेनुप प्रसाइर्ं र केशव थापाले चुनाव लडेका थिए ।
अन्य विद्यार्थी पनि उच्च ओहोदामा
पद्मोदयमा मैले पढाएका अन्य विद्यार्थी पनि विभिन्न क्षेत्रका उच्च ओहदामा पुगेका छन् । डा. सरोज धिताल काठमाडौंको पुतलीसडकस्थित मोडेल अस्पतालमा कार्यरत छन् । कमल रिजाल इन्जिनियरबाट रिटायर्ड भइसके । हरि कोइराला अञ्चल न्यायाधीश भएका थिए । उनी पनि अहिले रिटायर्ड भइसकेका छन् । कृण्ण खड्गी पनि इन्जिनियर छन् ।