पेरिस-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपाली समुदायको लागि पेरिसमा फ्रेन्च भाषा अध्यायन कक्षा सञ्चालन गरेको छ । विभिन्न व्यवसाय तथा रोजगारीको क्रममा फ्रान्समा नेपाली समुदायको संख्या हालैको वर्षहरूमा बढ्दै गइरहेको छ । फ्रेन्च स्कूल तथा कलेजहरूमा गई अध्यायन गर्न नपाउनेहरुको लागि लक्ष्य गरेर यो भाषा कक्षा संचालन गरिएको हो । स्थानीय भाषाको ज्ञान नहुँदा सामान्य दैनिकीमा समेत अप्ठयारो झेलिरहेका नेपालीहरूको सन्दर्भमा यो कक्षाले धेरै नेपालीहरुलाई सुबिधा प्रदान गर्नेमा आयोजक बिश्वस्त रहेको छ । उक्त भाषा कक्षा संचालनको लागि फ्रेन्च बिद्यालयबाट तालिम प्राप्त एक शिक्षिकाको व्यवस्था गरिएको छ भने ला कुर्नभ नगरपालिकाले कक्षाकोठा उपलव्ध गराएको हो ।
भाषा कक्षा फेब्रुवरीको १७ तारिख आइतबार एक समारोहको बीच उदघाटन भई संचालन भएको छ । फ्रेन्च भाषाको किताब बोँजुरका लेखक एवं साहित्यकार तथा संघका संरक्षक हरिहर अर्यालले फ्रेन्च भाषा बोड खोलेर उदघाटन गर्नु भयो। उदघाटन समारोहमा अर्यालले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफुले हर प्रकारले सहयोग गर्ने प्रतिबध्दता व्यक्त गर्दै यो भाषा एउटा माध्यम मात्र हो, शिक्षित बयस्कहरुले नियमित स्व-अध्यायन गरेर भाषामा प्रगति गर्न सक्ने बिचार ब्यक्त गर्नु भयो । उदघाटन कार्यक्रमको संचालन संघका महासचिब भक्त बहादुर वाग्लेले गर्नु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष निर्मल अर्यालले स्वागत मन्तव्यको क्रममा नेपाली दाजुभाइ दिदीबहिनीहरुको चाहाना र सहयोगको लागि भाषा कक्षा संञ्चालन गर्न सकेकोमा हर्ष प्रकट गर्दै सबैलाई स्वागत अनि उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । संघका उपाध्यक्ष हरिप्रसाद सापकोटाले गैर आवासीय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद, फ्रान्स, नेपाल र नेपालीको हित कार्यमा सँधै मरिमेटेर काम गर्ने बताउनु भयो । संघका युवा प्रतिनिधि एवं भाषा कक्षा संञ्चालक समितिका संयोजक एकेन्द्र बहादुर मल्लले भाषा पढ्न चाहानुहुनेहरूलाइ नियमित कक्षामा आइदिन अनुरोध गर्दै नेपालीहरुलाई यसले केहि सहयोग गर्न सकेमा संघको लगानी फलदायी हुने विचार व्यक्त गर्नुभयो । साथै कार्यक्रममा संस्थाका कोषाध्यक्ष थम्मन बहादुर टन्डन, सह-कोषाध्यक्ष नरेन्द्र शाही, सदस्य रामेश्वर श्रेष्ठ र किरण केसीको उपस्थिति रहेको थियो ।
पहिलो दिनको कक्षामा उत्साहाजनक संख्यामा पढ्न इच्छुकहरुको उपस्थिति रहेको थियो । भाषा पढ्न इच्छुकहरुको संख्याको आधारमा थप कक्षा संचालन गर्नुपरे पनि आयोजक तयार रहेको जानकारी गराइएको थियो । उदघाटन कार्यक्रम लगतै फ्रेन्च भाषाको पहिलो कक्षा शुरू गरिएको थियो । ***