-सुमित्रा दंगाल
आफ्नो बिहेमा अधिकांश महिला लजाउँछन् । पतिले भनेअनुसार उनकै सवारीमा कर्मघर जान्छन् । तर, मेरो विवाहमा यसको ठीक उल्टो भयो । २०५६ सालमा मैले बिहे गरेकी हुँ । घुम्टो ओढी दुलहीको भेषमा काठमाडौंको सफा टेम्पोको स्टेरिङ्ग घुमाउँदै थिएँ म । अगाडिको सिटमा मेरा पति थिए । पतिलाई साइडमा राखेर टेम्पो चलाउँदा धेरैले अचम्म पनि माने । कतिले अनौठो मान्दै तस्बिर लिए । मलाई भने आफूले रोजेको बाटोमा कुनै सरम वा असहज महसुस भएको थिएन । अखिर म चाहन्थेँ नै त आफूमा भएको भिन्नता देखाउन ।
मैले औपचारिक रूपमा कानुन पढें । २०५१ सालमा अधिवक्ताको लाईसेन्स लिएको थिएँ । तर, मैले कानुनी काम गरिन् । कानुन व्यवसायीको लाइसेन्स थन्काएर ड्राइभरको लाइसेन्स लिएँ, टेम्पोड्राइभर बनेर । त्यही वर्ष टेम्पो ड्राइभर बनेँ । म कानुनको विद्यार्थी भए पनि नेपाल प्रहरी बन्ने चाहना थियो । मेरो चाहना अनुरूप प्रहरी निरीक्षकको लागि आवेदन खुला हुँदा आवेदन पनि दिएँ । तर, मेरो योग्यताको कदर भएन । प्रहरी सेवामा नियुक्त हुनको लागि कर्मनिष्ठ हुनुभन्दा अघि लेनदेन आउने रहेछ । योग्यताको कदर नहुने देखेर मलाई टेम्पोचालक हुन मन लागेको हो ।
एकदिन रत्नपार्कका बसिरहेकी थिएँ । सफा टेम्पो देखेर यसैयसै मेरो कर्म पनि टेम्पोसँग जोडिएझैँ लाग्यो । ड्राइभरलाई अनुरोध गरेर रत्नपार्कलाई चारराउन्ड लगाएँ । त्यसैबेला ड्राइभरलाई सोधखोज गरेँ, कति कमाइ हुन्छ, कति बच्छ, गाह्रो अप्ठ्यारो केके छ भनेर । उनले ‘राम्रै कमाइ’ हुने बताए । उनको कुराले म प्रभावित भएँ । अरू काम खोज्नुभन्दा यही टेम्पो चलाउँछु भनेर ड्राइभर बन्ने विचार गरे ।
अनि, ऋण गरेर टेम्पो किनेँ । आफ्नै टेम्पो चलाउन सिकेँ पहिले । अनि, १४ जना महिलालाई पनि टेम्पोचालक बनाए, मैले । आज सडकमा देखिने महिला चालक तिनै मध्येका कति छन् ।
म समयअनुसार आफूलाई परिवर्तन गर्दै आएकी मान्छे । सफा टेम्पो चलाएर मात्रै मेरो अनुभवको बाटो खारिएझैँ लागेन । अझ जीवनमा आफूलाई केही भिन्न देखाउन रुचाउने मान्छे म । कर्म त सबैले गरेकै हुन्छन् । तर, केही भिन्न कर्मबाट परिचित हुने सौख मेरो बाल्यकालदेखि कै हो । झापामा जन्मिएँ । त्यो समयमा छोरीमान्छेले बयलगाडा हाँक्न हुँदैन भन्ने मान्यता थियो । म भने बजारबाट घरसम्म बयलगाडा हाँकेर ल्याउँथे । बुबाले ‘छोरी भएर हलीको संगत गर्छन्’ गाली पनि गर्नुहुन्थ्यो कहिलेकाहीँ । तर, मनको चाहअघि सानोतिनो अबरोध सजिलै पछिन्ने रहेछ ।
कुनै दिन टेम्पो ड्राइभर थिएँ म । तर, टेम्पो चलाएर मात्रै मेरो चाहना पूरा भएको थिएन । सडकमा गुड्ने सबै सवारी चलाउने मुड आयो टेम्पोड्राइभर बनेपछि । त्यसपछि डोजर, रेल, पानी जहाजसमेत हाँके मैले । ०५७ सालमा ट्रलीबस चलाए । काठमाडौंकैे सडकमा रोडर चलाएँ । कोलकाता गएर पानी जहाज चलाएँ । गान्धी सेतु पुलमा पानी जहाज चलाएकी हुँ । पानीजहाज चलाउन सिक्न केही समय लाग्यो । मेहनत भएपछि जहाज चलाउन पनि समस्या परेन मेरो लागि । नेपाल आएर नारायणी नदीमा जेटवार्ज चलाएँ । ०६० सालमा नेपालको एकमात्रै रेलवे सेवा जनकपुर जयनगरमा रेल चलाएँ । करिब एक महिना सिके पछि रेल चलाउन सकेँ । जनकपुरका तत्कालीन सिडिओ वामनप्रसाद न्यौपाने र एसएसपीलगायत यात्रु लिएर जनकपुरबाट जयनगरसम्म रेलको लिगमा मेरो छोटो कर्मयात्रा जोडेँ ।
टेम्पो ड्राइभर भएर जोडिएको यातायातसँगको कर्मयात्रामा मलाई आविष्कार भएजति सबै सवारी चलाएर भिन्न पहिचान बनाउने चाहनासँग जोडियो । २०६४ सालमा स्थलमार्गमा चल्ने सबै सवारीसाधन चलाएपछि मलाई हवाईजहाज चलाउन मन लाग्यो । पाइलट पढ्न भारत जाने तयारीमा थिएँ । त्यहीबेला सिवानी एयरले नेपालमै पाइलट पढाउने थाहा पाएँ । नेपालमा सुविधा छ भने भारत किन जाने भनेर त्यही प्रवेश परीक्षा दिएँ । पास भएर सिवानी एयरमा पाइलट कोर्स पढदै थिए । सिवानी एयरमा तेस्रो ब्याचको विद्यार्थी थिएँ म । दुर्भाग्य सिवानी एयरको मालिक भागेर विदेश गयो । मभन्दा अगाडिका दुईवटा ग्रुप र मेरो ग्रुपले सिपिएल कमर्सिएल पाइलट लाइसेन्स पाउन सकेनौँ ।
सिवानी एयर भागे पनि मेरो पाइलट बन्ने इच्छा मरेन । माओवादी नेता प्रचण्डसँग सहयोग माग्न गएँ । अस्ट्रेलिया गएर पढ्छु व्यवस्था मिलाउन भने । त्यतिबेला ३७ लाख खर्च लाग्थ्यो । दुई हात मिलाएर आश्वासन दिनुभयो । तपार्इं पढाइको लागि तयारी गर्नुभन्नु भएको थियो । म आशावादी भएर फर्कें, तर पछि सहयोग पाइनँ । मलाई नेपाल सहासिक महिलाहरूको देश भनेर चिनाउने रहर थियो, पाइनँ ।
पाइलट बन्ने चाहना मरेपछि म आफ्नो पढाइ अनुसारको पेसा वकालतमा लागेकी हुँ । यो पेसा पनि एक प्रकारको चालक सरह हो । जतिबेला स्टेरिंग हातमा हुन्थ्यो, मैले महिला भएकै कारण अरूको हेपाइको विरुद्ध बोलिरहनुपर्यो । अहिले पनि यो क्रम जारी नै छ । सम्झन्छु, ‘एक दिन म टेम्पो चलाएर रत्नपार्कतर्फ आउँदै थिएँ । ट्राफिक प्रहरीको एक असईले मलाई अपशब्द प्रयोग गरे । असैह्य भयो । मेरो पालो कठालो समातेर दुई लात हानँे । असइ उछिट्टिएर तीन बल्ड्यांग खायो । उतिबेला त्यो समाचार विभिन्न पत्रपत्रिकाले समेत लेखेका थिए । अहिले पनि कति महिलाहरू हिंसाका सिकार भइरहेका छन्, मलाई लाग्छ, हिंसा जति सह्यो त्यति बढ्दै जान्छ हिंसाको विरुद्ध हरेक महिलाले प्रतिक्रिया दिनैपर्छ ।
मेरो रगतले अन्याय अत्याचार सहनै सक्दैन । कसैले मेरो काममा बाधा पुर्याउँछ भने म पिठ्यूँ फर्काएर हिँड्न पनि सक्दिनँ । आइलाग्ने माथि जाइलाग्दा, कसैलाई लाग्न सक्छ यो झगडालु आइमाई हो भन्ने । हुन न यो समाज नै यस्तै छ, कुनै महिला आफूमाथि भएको अत्याचारको विरुद्ध बोलेमा उसकै बारेमा नकारात्मक टिप्पणी आउँछ नकि त्यो महिलालाई अत्याचार गर्नेको विरुद्ध । यदि कसैले महिला भनेर हेप्छ भने सुरुमा बातले भन्नुपर्छ नमाने तालको भाषा पनि सिकाउनुपर्छ जस्तो
लाग्छ मलाई ।
तर, समाजका माथिल्लो तहमा भएको भनिएकाहरूले नै महिलामाथिको अत्याचार बढाउँदै लैजान्छन् । यस कुराको भुक्तभोगी आफैँ पनि हुँ । प्रतिरोध गरे पनि महिलालाई कमजोर बनाउन भने समाजका उपल्लो तहमा रहेका नै अघि बढ्छन् । हालै मात्रै सकिएको नेपाल बार एसोसिएसनको चुनावको समयमा पनि मैले त्यस्तै समस्या भोगेँ । २०५१ सालमै मैले अधिवक्ताको लाइसेन्स लिएको हुँ । यद्यपि, काम अलिपछि थालेँ । अहिले म तालिमप्राप्त मेलमिलाप कर्ता पनि हुँ । बारको चुनावमा आफ्नो योग्यता र अनुभवले गर्दा आफू पनि उम्मेदवार बन्नको लागि योग्य छु भन्ने ठानी नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष प्रेमबहादुर खड्कासँग आफ्नो इच्छा व्यक्त गर्न बैठकमा गएकी थिएँ । तर, उनले मेरो कुरा पूरै सुनेनन् । मलाई अयोग्यताको आधार पनि बताएनन् । उल्टै मलाई अश्लील गाली गर्दै हप्काए । उनले भने, ‘तँ ८८८८८ किन मेरो पछि लाग्छेस् ? (सँगै रहेका व्यक्तिलाई देखाउदै) यी गोपालको पछि लाग् न । यसको ठूलो पनि छ । मैले भन्दा यसले तँलाई सन्तुष्टि दिन सक्छ ।’ कानुनको वकालत गर्ने त्यसमा पनि बारको अध्यक्ष जस्तो मान्छेले त्यस्तो बोलेपछि कसरी सहने ?
म चाहन्थेँ, त्यस्तो अपशब्द बोलेपछि माफी मागून् । उनले बोली फिर्ता लिँदा हामी दुवैको जित हुने थियो । मेरो चाहना पनि त्यही थियो । तर, उनी उल्टै मेरो बारे नराम्रंो चर्चा गर्न पछि परेनन् । त्यतिकै कुरो टुंगियोस् भनेर धेरै प्रयास गरेँ । तर, आफ्नो ओहोदाको संरक्षणसमेत नहुने गरी उनको अभिव्यक्ति आएपछि मैले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजानिक ऐन २०२७ अन्तर्गत गाली बेइजतीको मुद्दा दर्ता गरेकी छु । प्रशासनले अझै मेरो मुद्दाको फैसला गरेको छैन । मेरो पक्षमा फैसला हुने कुरेर बसिरहेकी छु । घरीघरी त लाग्छ, उतिबेलै खड्कालाई लात मारेको भए हुने रहेछ ।
उक्त बेइज्जती सहन नसकी प्रधानमन्त्री कार्यालयमा उजुरी गरेकी छु । अरूले उल्टै मैले कुटेको पनि भनेका रहेछन् । तर, मैले त्यतिबेला कुटाकुट गर्ने मनसाय राखेकी थिइनँ र गरिन पनि । साथीभाइले कहिलेकाँही सुझाव पनि दिन्छन् ‘बातले नमान्नेलाई लात हान्नुपर्छ ।’ मलाई लाग्छ उनीविरुद्ध मुद्दा दर्ता हुनु लात मारेसरह नै हो ।’
प्रस्तुति : चमिना भट्टराई