Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

बिशेष सम्पादकीय

झण्डै पौने तीन करोड जनसँख्या भएको देशका करिव २२ प्रतिशत अर्थात ५० लाख होनहार नेपालीहरुको युवा जमात यतिबेला मुलुकबाहिरै छन् । नेपालको पछिल्लो जनगणनाले यहि बताउँछ । मुलुकबाहिर रहेको यति ठूलो सँख्यालाई सानो भन्न मिल्दैन । उनीहरु संसारको जुनसुकै ठाउँमा रहेको भए पनि नेपालबाहिरको नेपालमै छन र नेपालकै लागि केहि न केहि गर्ने अभियानमा जुटिरहेका छन् । तर राज्यले यति ठूलो सँख्याका मुलुकबाहिर रहेका नेपालीका लागि उपयुक्त नीति निर्माण गर्ने दिशामा ध्यान दिएको पाईदैन । यसको सोझो अर्थ उनीहरुप्रति राज्यले गरेको उपेक्षा हो भन्ने नै ठहर्छ ।

ग्लोबल भिलेजकारुपमा बिकसित भईसकेको आजको बिश्वमा देशभित्र बसेर मात्र मुलुकको लागि केहि गर्न सकिन्छ भन्ने सोंच अब पुरानो भईसकेको छ । जो जहाँ बसेर मुलुकका लागि जे गर्न संभव छ, त्यो गर्न डायस्पोराका नेपाली उद्यत देखिन्छन् । तथापि, त्यसका लागि राज्यले ध्यान नदिंदा जति हुनुपर्ने हो, त्यति कामहरु हुन सकेका छैनन्, यो हामी सबैले देखेभोगेकै कुरा हो । मलेसिया तथा खाडिको मुलुकदेखि युरोप, अमेरिका, बेलायत, जापान जस्ता बिकसित देशमा रहे-बसेका नेपालीहरु आफ्ना बचेखुचेको आराम गर्ने समयलाई पनि कुनै न कुनैरुपमा संगठित भएर सामुहिक सोंच र चिन्तनका साथ आफ्नो जन्मभूमिका लागि क्रियाशील रहेको पाईन्छ । यसरी उनीहरुले मुलुकप्रति देखाउँदै आएको असिम मायालाई प्रभावकारी ढंगले ब्यवस्थापन गर्न सके देश बिकासमा ठूलो सघाउ पुग्न सक्ने कुरालाई नकार्न सकिंदैन ।

तर विडम्बनाको कुरा सिंहदरबार, बालुवाटार, शितलनिबास, पेरिसडाँडा, बल्खुदरबार र सानेपा लगायतका मुलुकको शक्तिकेन्द्रहरुको ध्यान भने यतिबेला केवल १ थान प्रधानमन्त्रीको कुर्सीमा मात्र केन्द्रित देखिन्छ । सहमतिको नाममा पटक पटक भएका निष्कर्षहिन छलफलबाट के देखिन्छ भने दलहरु जुनसुकै हालतमा भएपनि आफ्नै पोल्टामा सत्ता आए ठिक, नत्र बेठिक भन्ने दलगत स्वार्थको दलदलमा उनीहरु फसेका छन् । यो गोलचक्करबाट निकास पाउन नसकेका दल र तिनका नेताहरु आफ्नो सोंचलाई फराकिलो बनाउनुको सट्टा झन साँगुरो पार्दै गईरहेका छन् । प्रमुख भनिएका ३,४ दलका ५,७ जना नेताहरुले सवा तीन करोड निर्दोष नेपालीको भाग्य र भबिष्यमाथि खेलबाड गरिरहेका छन् । जुन कुरा आम नेपाली जनताले राम्रोसंग बुझिसकेका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि बिस्तारै बुझ्न थालिसकेको छ ।

नेपालबाहिरको नेपालबाट हेर्दा, लाग्छ नेपालका ५, ७ जना टाउकालाई मात्र यत्रो लामो समयदेखि बिश्वास गरेर नेता मानेर नेपाली जनताले जिम्मेवारी सुम्पेकै हुन् र भर परेकै हुन् तर देश र जनताको नाममा आफु र आफ्नो दलको मात्र स्वार्थ हेर्ने प्रबृत्तिका कारण राजनीतिक जटिलता, संबैधानिक शून्यतातिर मुलुक धकेलिएको हो । मुलुकमा यो बिषम परिस्थिति आउनुमा ठूला भनिएका सबै दलहरु उतिकै जिम्मेवार छन्, फरक कम र बढि मात्र हो । एकले अर्कालाई दोषारोपण गर्दै आफु पानीमाथिको ओभानो हुन खोज्ने र निषेधको राजनीतिमा आफ्नो भबिष्य देख्ने दलहरुको हिसाबकिताब नेपाली जनताले पनि अवश्य राखेकै होलान् जुन ढिलोचाँडो हुने निर्वाचनमा उनिहरुले देखाउने नै छन् ।

दलहरुका पछिल्ला गतिबिधि र राष्ट्रपतिको अन्त्यहिन कदमलाई हेर्दा अब बैशाखमा निर्वाचन हुने संभावना टरेर गएको छ भने दलहरुले अब जेठमा निर्वाचन भन्ने रटान शुरु गर्न थालिसकेका छन् । नेपालको राजनैतिक परिदृश्यमा देखिएका पछिल्ला घटनाक्रम र नौटंकी देख्दा देशको चिन्ता गर्ने ठूला ठूला बिद्वान, अधिकारकर्मी, कानुन ब्यवसायी, मुलुकलाई नै चलायमान बनाउन सक्ने मिडियाजगत, समाजसेवीलगायत नागरिक समाज नामका वर्ग चरित्र भित्र पर्ने सबै आशालाग्दा अनुहारहरु अहिले कतै काशीवास गएका त हैनन् भन्ने सजिलै लख् काट्न सकिन्छ । यदि त्यसो हैन भने देशका ती आशालाग्दा अनुहारहरु सबैले आउने चुनावका लागि पार्टीको टिकट लिईसकेको हुनुपर्छ, अनि बस्नु परेन त, तैं चुप मै चुप ! भनिन्छ, देश र समाज बिग्रनुमा खराब मान्छेहरुको मात्र दोष हुदैंन, राम्रा मान्छेहरुको मौनता अझ बढि दोषी हुन्छ । जे होस्, गएको बर्षले निकास दिन नसकेको राजनीतिक गत्यारोधको गाँठो यो बर्ष बेलैमा फुकियोस्, त्यसका लागि आम नेपालीहरुको सुझबुझपूर्ण खबरदारीको हातेमालो अझ कसिलो बन्न सकोस् । नयाँ बर्षको शुभकामना । ***

 

 

 

तपाईको प्रतिक्रिया