समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत माेरङले ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ । बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे । पाेखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको र बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धराैटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
पाेखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेपमा गत २५ पुसमा पाेखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएकाे थियाे । अनिल ठगी मुद्दामा जाेडिएपछि सभापति पाेखरेलले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।