काठमाडौं – रश्मिला धामी पुनः साइबर अपराधको आरोपमा पक्राउ परेकी छन् । यसअघि पनि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी घटनामा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलका अनुसार युवतीको उजुरीका आधारमा काठमाडौँको माइतीघर मण्डलाबाट सिंहदरबार वृत्त अनामनगरको टोलीले उनलाई पक्राउ गरेको हो । हाल उनलाई चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
धामी यसअघि पनि फेसबुक लाइभमार्फत विभिन्न व्यक्तिको नाम लिएर चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी थिइन् । एमाले नेता ऐन महरमाथि धामीले बलात्कारको आरोप लगाएकी छन् । तर, महर पक्षले भने धामीले झुटा आरोप लगाउँदै रकम मोलमोलाइको प्रयास गरेको दाबी गर्दै आएका छन् ।
यसैबीच उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान थाल्न परमादेश जारी गरेको हो ।
पीडित महिला (रश्मिला)ले यसअघि नै महरविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले उक्त उजुरी दर्ता नगरी तामेलीमा राखेको थियो । उजुरी दर्ता नभएपछि पीडित महिला न्यायको खोजीमा उच्च अदालत पुगेकी थिइन् ।
उच्च अदालतको आदेशपछि प्रहरीले तामेलीमा राख्ने प्रक्रियालाई त्रुटिपूर्ण ठहर गर्दै प्रमाणका आधारमा अनुसन्धान अघि बढाउनुपर्ने निर्णय गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार, ‘प्रमाणहरूको आधारमा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश जारी गरिएको हो ।’
यस मुद्दासँग सम्बन्धित अन्य दुई रिट भने खारेज गरिएको छ । बझाङका स्थायी बासिन्दा ऐन महरलाई २०७८ साल मंसिरमा एमाले केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । तर, यौन दुर्व्यवहारको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट एक पटक निलम्बित भएका थिए । पछि, सचिवालय बैठकमार्फत महरलाई पुनः जिम्मेवारीमा फर्काइएको थियो ।