समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापतिको पद विपक्षी दललाई नदिए संसद् बहिष्कार गर्ने चेतावनी दिएको छ। बुधबार लेखा समितिको बैठकमा माओवादी सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलले राजीनामा नदिए संसद् बहिष्कारको बाटो अपनाउने बताए। उनले प्रधानमन्त्री र समितिका सभापति एकै दलको हुन नहुने मान्यताको पालना गरिनुपर्नेमा जोड दिए।
सत्ता पक्षका सांसदहरूले भने सभापतिको राजीनामा माग्दैमा समस्या समाधान नहुने प्रतिक्रिया दिएका छन्। नेकपा एमालेका सचिव योगेश भट्टराईले लेखा समितिको सभापति विपक्षी दलकै हुने गरी संविधानमा संशोधन गर्ने, नियमावली परिमार्जन गर्ने वा राजनीतिक सहमति खोज्नुपर्ने विकल्प अघि सारेका छन्। शीर्ष नेतृत्व तहमा सहमति भएमा सभापति परिवर्तन गर्न तयार रहेको समेत उनले स्पष्ट पारे।
यसैबीच, बैठकमा सांसद मोदीले अध्यादेशका प्रावधानले व्यापारीलाई कालोबजारी गर्ने सहज वातावरण सिर्जना गरेको भन्दै असन्तोष व्यक्त गरे। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अघोषित लोडसेडिङले उत्पादनमा असर परेको र मूल्य वृद्धि हुन सक्ने बताएका छन्। भण्डारीले सिमेन्टको मूल्यको असमानतालाई सम्बोधन गरी एउटै दर कायम गर्न आवश्यक पहल थालिने बताए।