समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र एमाले मिलेर गठन भएका विगतका सरकारहरूले उल्लेख्य रूपमा राम्रो काम गरेको दाबी गरेका छन्। उनले विगतमा कांग्रेस–एमालेको नौ महिना र एक वर्षको सहकार्यले गर्व गर्न लायक परिणाम दिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तमान सरकारले पनि नागरिकको अपेक्षा पूरा गर्नेखालका महत्त्वपूर्ण काम गर्नुपर्ने आवश्यकता औँल्याए।
कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै थापाले तीन वर्षभित्र जनताका लागि प्रभावकारी काम गरेर विगतका सरकारहरूझैं उदाहरणीय भूमिका निभाउनुपर्ने बताए।
थापाले कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारको उदाहरण दिँदै, संसद्का दुई ठूला दलहरूको साझेदारीले नागरिकलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।