काठमाडौं – अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको छ ।
कजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार जहाजमा रहेका २५ जना बाँच्न सफल भएका र तीमध्ये २२ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको कजाकस्तानका अधिकारीहरूले जनाएका छन् ।
कजाकस्तानका आकस्मिक सेवाका अधिकारीहरूका अनुसार दुर्घटना स्थल पुग्दा अजरबैजान एयरलाइन्सको जहाजमा आगो लागिरहेको थियो । पछि जहाजमा लागेको आगो निभाइएको छ । विमानमा अजरबैजानका ३७, रुसका १६ कजाकस्तानका ६, किर्गिस्तानका ३ यात्रु रहेका सीएनएनले जनाएको छ ।
अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त विमानलाई कुहिरोका कारण कजाकस्तानतर्फ मोडिएको थियो । अजरबैजान एअरलाइन्सले भने हालसम्म दुर्घटनाबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।