काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
एनपिएल विजेता टिमले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।