काठमाडौं – नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छिन् । प्रदेश २ (मधेस) बाहेक अन्य सबै प्रदेशको मतगणना पूरा हुँदा उनले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार १ सय ४४ मतको फराकिलो अन्तरले पछि पारेकी हुन् ।
मधेस प्रदेशमा जम्मा ७७२ मत खसेको छ, जुन शर्माको अग्रताभन्दा कम हो । पछिल्लो मत परिणामअनुसार शर्माले ३ हजार ९ सय ७३ मत प्राप्त गरेकी छिन् भने विष्टले २ हजार ८ सय २९ मत पाएका छन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार हुन् ।
शर्माको प्यानलले अन्य पदहरूमा पनि अग्रता लिएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाललगायतका उम्मेदवारहरूले चुनावी नतिजामा स्पष्ट अग्रता देखाएका छन् । अन्तिम मत परिणाम भने अबको केहीबेरमा औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ ।