समाचार सुन्नुहोस :
काठमाडौँ – संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक (टीआरसी) सङ्घीय संसदका दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ ।
संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले यस विधेयकको स्वागत गर्दै यसको कार्यान्वयन पीडितहरूलाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिएका छन्। उनले १८ वर्षपछि पारित भएको यस विधेयकले नेपालमा दिगो शान्ति स्थापनाको दिशामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।उच्चायुक्त टर्कले बिहीबार राति जेनेभाबाट जारी गरेको वक्तव्यमा सत्य निरूपण र मेलमिलापसम्बन्धी मुद्दाहरू समाधान गर्न यो विधेयक महत्वपूर्ण हुने बताएका छन्।
शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताएका छन् ।