समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैं पार्टी नेतृत्वको पक्षमा उभिएको स्पष्ट पारेका छन्। पार्टी स्थायी समिति बैठकमा उनले दुई सय वर्षसम्म नेपालको वैचारिक नेतृत्व गर्न सक्ने विचार निर्माण गर्न सुझाव दिए पनि कसरी नेतृत्व विरोधी भनियो भनेर प्रश्न गरे।
शनिबार काठमाडौँमा रुकुम-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले अध्यक्ष पुष्पकमल दाहाललाई सत्ताको नेतृत्व गर्न सुझाव दिएको मात्र भनेको भन्दै आफूलाई नेतृत्व विरोधी भनेर आरोप लगाइनु गलत भएको बताए। शर्माले संगठनको जिम्मेवारी अरुलाई दिन र वैचारिक धारको नेतृत्व दाहालले लिनुपर्ने सुझाव दिएको मात्र बताएका थिए।
शर्माले अध्यक्ष दाहाललाई हटाएर आफू अध्यक्ष हुने कुनै इच्छा नरहेको स्पष्टीकरण दिए। उनले पार्टी विभाजनको आरोप पार्टी मुख्यालयबाट आएको उल्लेख गर्दै अध्यक्ष दाहालले सार्वजनिक रूपमा यसलाई खण्डन गर्नुपर्ने माग पनि राखे।
‘वैचारिक अथोरिटी लिनुहोस्। सत्ताको नेतृत्व गर्नुस्। संगठनको जिम्मा अरुलाई दिनुस् भनेको हो मैले। यो के अन्याय हो? यो के उहाँप्रति अपमान हो? यो के उहाँहरुलाई हटाएर म अध्यक्ष हुन खोजेको हो? मलाई चाहिएको छैन। मैले भनेको छु उहाँलाई, मलाई चाहिएको छैन। तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन,’ उनले भने।