Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौं – पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका-५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउ खेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन् ।

विसं २०७६ मा सुरु गरेको च्याउ खेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन् । ‘मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ’, उनी भन्छिन् ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु’, उनी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’

उनले च्याउ खेती मात्रै नभई बेमौसमी तरकारी खेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । ‘च्याउ खेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ’, उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउ खेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् । ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ’, उनले भने । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकै पटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउ खेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएकी थिइन् । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन् भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन् । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्‍यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।’

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । ‘च्याउ खेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ’, उनी भन्छिन् । उनको पाँच जना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् । –राससको सहयोगमा

तपाईको प्रतिक्रिया