मेलवर्न – अष्ट्रेलियाको बहुसाँस्कृतिक छवि र यसको गरिमालाई उचो राख्न मद्दत पुरयाएको भन्दै यहाँस्थित न्यु साउथ वेल्स राज्यले यहाँबाट प्रकाशित हुने नेपाली मासिक पत्रिका द नेपाली टाइम्सलाई सम्मान गरेको छ ।
यहाँस्थित न्यु साउथ वेल्स राज्यले प्रत्येक बर्ष नेसनल मल्टिकल्चरल, मार्केटिङ्ग, एडभरटाइजिङ्ग र कम्युनिकेसन बिधामा एक सँस्थालाई पुरस्कृत गर्ने गरेको छ । सयौं राष्ट्रिय स्तरका सँस्थाहरुका साथै अन्य देशका सँस्थाहरुलाई समेटेर प्रदान गरिने यो पुरस्कार यसपटक एसबिएस रेडियोले जितेपनि उपविजेताका रुपमा नेपाली भाषामा प्रकाशित उक्त प्रत्रिकाले सम्मान प्राप्त गरेको हो ।
अवार्डको घोषणा गर्दै राज्यका बहुसाँस्कृतिक मामिला मन्त्री भिक्टर डोमिनेलोले नेपाली टाईम्सलाई सम्मान गरेका हुन् । यहाँको बहुसाँस्कृतिक समाचार, बिज्ञापन र सँस्कृतिलाई बढावा दिने सुचना तथा समाचार सम्प्रेषण गरेको भन्दै उनले सम्मान गरेका हुन् ।
प्रतिष्पर्धामा यहाँको प्रहरी सँगठन, बिदेशमा समेत शाखाहरु स्थापना गरेर सेवा दिइरहेको कमनवेल्थ बैक, खेलकुद सम्बन्धि राष्ट्रिय सँगठनहरु समेत प्रतिष्पर्धामा रहेका थिए ।
सम्मान प्राप्त गरेपछि पत्रिकाका प्रधान सम्पादक डिल्ली ढकालले यसले यहाँ रहेका सबै नेपालीहरुको नाम उँचो बनाएको बताए । ‘सम्मान पाउनु ठुलो कुरा होइन् तरपनि यसले हामीले नेपाली मात्र नभएर अष्ट्रेलियालाई पनि केही योगदान गरेका छौं भन्ने प्रमाणित भएको छ -नेपाली टाईम्सका प्रकाशक महेन्द्र लम्सालले भने- ।’
बिगत ५ बर्ष देखि निरन्तर मासिक रुपमा प्रकाशनमा आइरहेको उक्त प्रत्रिकाले नेपालका समाचारका साथै यहाँका स्थानीय समाचार, सामाजिक गतिविधि र अन्य विषयबस्तुलाई उच्च प्राथमिकता साथ प्रकाशन गर्ने गरेको छ । ***