लन्डन- बेलायतमा रहेका नेपालीको सक्रियतामा सेप्टेम्बरदेखि लण्डन-काठमाडौं उडान सञ्चालन गरिने भएको छ। लण्डनमा दर्ता भएको नेटएयरले बेलायतको एसिसी एभिएसनसँग मिलेर उडान सञ्चाल गर्न लागेको हो।
६५ करोड रुपैंयाँ बराबरको चुक्ता पूँजी जम्मा गरी सामूहिक लगानी र नेतृत्वको अवधारणामा हवाइसेवा सञ्चालन गर्न लागेको नेटएयरवेजका निर्देशक सुरेन्द्र श्रेष्ठले बताए। बेलायत तथा नेपालबीच सिधा हवाइसेवा आवश्यक रहेकाले नेपाली समुदायले सेवा सञ्चालन गर्न लागेको जनाए। ‘६५ करोड रुपैंयाँ चुक्ता र २० करोड चालु पूँजी भए सेवा सञ्चालन गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘ चुक्ता पुंजी जम्मा गर्ने काम भइरहेको छ।’ कम्पनीमा लगानी गर्न इच्छुक सर्वसाधारणले ३० लाख रुपैंयाँ बराबरको शेयर खरिद गर्न सक्ने उनको भनाइ छ। शेयर व्यक्तिगत, सामूहिक वा संस्थागत रूपमा किन्न सकिने उनले जानकारी दिए। परियोजनालाई बेलायतबासी नेपालीको सामाजिक सञ्जालका रूपमा विकास गर्न खोजिएको छ। त्यसका लागि विभिन्न योजना छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
तर, नेपाल एयरलाइन्समा ३५ वर्ष बिताएका पूर्वक्याप्टेन रत्नशंकर श्रेष्ठ (आरके) प्राविधिक कारणले लन्डन-काठमाडौं सिधा उडान सम्भव नभएको बताए। बोइङ ७७७ भन्दा सानो जहाजको इन्धनले काठमाडौंसम्मको दूरी धान्न सक्दैन। उनले भने, ‘बोइङ ७७७ किन्ने हो भने, त्रिभुवन विमानस्थलको रनवे पुग्दैन।’ भारतको कोलकता वा अरु कुनै क्षेत्रमा ट्रान्जिट गरेर मात्र काठमाडौं पुग्नसक्ने श्रेष्ठले बताए। ‘काठमाडौं-दुबई-फ्रयांकफर्ट-लन्डनमा जहाज उडाएको स्मरण गर्दै श्रेष्ठले भने, ‘लण्डनबाट काठमाडौं जाने यात्रु पाउन सकिन्छ। तर, काठमाडौंबाट लण्डन फर्कनेबेला जहाज रित्तै हुनसक्छ। त्यसैले अन्य क्षेत्रमा ट्रान्जिट गरेर उडान गर्दा टिकाउ हुनसक्छ।’
लन्डन-काठमाडौं सिधा उडान गर्न सकिने नेटएयरका प्रमुख विक्रम जोशी बताउँछन्। काठमाडौंबाट फर्कदा अल्टिच्युटको समस्या र इन्धन भर्नका लागि बीचमा रोक्न सकिने जोशीले बताए। उनले भने, ‘यसबारे थप अध्ययन भइरहेको छ।’ उनकाअनुसार २५० सिट क्षमता भएको बोइङ ७६७ लिजमा लिने तयारी भइरहेको छ। आगामी दुई वर्षभित्र तीनवटा जहाज किन्ने कम्पनीको लक्ष्य छ।
बेलायतमा भूपूगोर्खा सैनिकको परिवारसहित करिब १ लाख ५० हजार नेपाली बसोबास गर्छन्। नेपाल जाने पर्यटकको संख्या वार्षिक औसत ३५ हजार रहेको पछिल्ला तथ्यांकले देखाएको छ। नेपाल वायुसेवा निगमले युरोपबाट सन् १९९९ मा हवाइसेवा रद्द गरेपछि दोहा, कतार, नयाँदिल्ली, मुम्बइ, बैंककलगायत सहर ट्रान्जिट गरेर नेपाल आउजाउ गर्छन्। ***