नेपालीहरुका लागि दशैं अब धार्मिक पर्व मात्र रहेन, यो सामाजिक र साँस्कृतिक पर्वकारुपमा पनि स्थापित हुँदै गईरहेको छ । हुँदा हुँदा विदेशीहरुले समेत नेपालीहरुसंग मिलेर धुमधामका साथ दशैं मनाउन थालेका छन् भने अमेरिकाको मेरिल्याण्ड राज्यमा त ‘दशैं डे’ का रुपमा मान्यता नै दिईसकेको अवस्था छ । दशैं पर्वका अवसरमा देशविदेशबाट आफ्नो पुर्ख्यौली थातथलो पुगी मान्यजनका हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने, आत्मिय सम्बन्धलाई नविकरण गर्ने असल परम्परा साँच्चिकै गर्व गर्न लायक छ । शारदीय मौसममा लहलह झुलेका धानका बाला र दुलहीझैं चिटिक्क सिंगारिएका घरहरु, लिंगे पिङ र रोटेपिङमा रमाईरहेका युवा जमात, नजिकैको कोटघरमा गुञ्जिरहेको मालश्रीको धुन आहा कल्पना मात्रै गर्दा पनि सानैदेखि हाम्रो मस्तिष्कमा गडेर बसेको छाप ताजा भएर आउने गर्दछ ।
विदेशमा रहेका नेपालीहरु दशैंकै छेको पारेर नेपाल जाने क्रम अचेल बढ्दो छ । हरेक दुई वर्षमा हुने एनआरएनको अधिवेशनसहितको कुम्भमेला तथा हरेक वर्ष हुने साधारणसभा जस्ता कार्यक्रमहरु पनि सोही समयमा हुने हुँदा परिवारसंगै दशैं मनाउनुका साथै कार्यक्रममा पनि सहभागिता जनाउन पाईने भएकोले नेपाल जानेहरुका लागि यो समय धेरैको रोजाईमा पर्ने गरेको पाईन्छ । पछिल्ला समयमा यसै मेसो पारेर विभिन्न जिल्लाका प्रवासी संघसंस्थाहरुले पनि आ-आफ्ना जिल्लामा विश्व सम्मेलनको आयोजना गर्ने प्रचलन बढेर गएको छ । यसो हुँदा प्रवासबाट दशैंमा घर फर्कनेहरुको संख्या अझ बढ्दै जाने प्रक्षेपण गर्न सकिन्छ ।
यसरी विदेशबाट एकै समयमा हजारौंको संख्यामा नेपाल फर्कने नेपालीहरुको उपस्थितिले राजधानी काठमाडौं लगायत देशका प्रमुख सहरहरुमा हुने चहलपहल, रौनकता बढ्नुका साथै आर्थिक गतिविधिमा पनि धेरथोर सकारात्मक प्रभाव रहन्छ नै । यसरी आ-आफ्ना परिवार भेट्न, आफु संलग्न संस्थाको सम्मेलनमा भाग लिन, विदा मनाउन र आफन्तहरुसंग आत्मियता साट्दै सम्बन्धलाई नविकरण गर्न दशैं नै एउटा यस्तो उपयुक्त अवसर हो जसले सदियौंदेखि स्थापित हाम्रा मूल्य, मान्यता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन ठूलो मदत गर्दछ । घरदेश र परदेशलाई मात्रै नभएर पुराना पुस्ता र नयाँ पुस्तालाई जोड्ने एउटा साँस्कृतिक पुल हो भने नयाँ पुस्तालाई सँस्कार हस्तान्तरण गर्ने महान पर्व हो दशैं । त्यसो भएको हुनाले नेपाली समाजमा दशैंको बहुआयामिक महत्व रहँदै आएको छ र रहीरहने छ ।
अपवाद बाहेक समग्रमा दशैं नेपालीहरुको साझा पर्व हो । विभिन्न जाति, धर्म, भाषा, सँस्कृति र विविधतायुक्त रहनसहन भएको हाम्रो नेपाली समाजमा एकअर्काको चार्डपर्व, धर्म, भाषा र सँस्कृतिलाई सम्मान गर्दै सामाजिक सद्भावलाई कायम राख्नुपर्दछ । चाहे स्वदेशमा होस् या विदेशमा हाम्रा लागि चाडपर्व सबै उत्तिकै प्रिय छन्, जतिसुकै सुविधा सम्पन्न देशमा बसेर समृद्धि हासिल गरेपनि हामीलाई हाम्रै धरातल र हाम्रै सँस्कार र सँस्कृतिमा मात्रै वास्तविक खुशी भेट्टाउन सक्छौ । त्यसैले हुर्कदो नयाँ पुस्ताको जमात पनि विदेशमा बिशाल बन्दै गईरहेको छ । नेपाली हुनुको गर्विलो विरासतलाई सानैदेखि सिकाउँदै हाम्रा सामाजिक, साँस्कृतिक र ऐतिहासिक गाथा बोकेका चाडपर्व र परम्पराको महत्वका बारेमा बुझाउँदै जानुपर्दछ । नेपाली भाषा, साहित्य, वाङ्मय, कला, सँस्कृति हाम्रा अमूल्य निधी हुन् । यसलाई विदेशमा हुर्कदो नयाँ पुस्तामा लैजानु अति आवश्यक छ । जब उनीहरु एउटा उमेरको हद पार गर्छन् त्यसपछि हामीले चाहेर पनि हस्तान्तरण गर्न सकिदैन । त्यसो भएको हुनाले नेपाली समाजमा बहिङ्गम अर्थ राख्ने चाडपर्वहरुका बारेमा आफ्ना नानीबाबुहरुलाई त्यससंग सम्बन्धित सामग्रीहरुको प्रयोग गरेर भए पनि बुझाउँदै र सिकाउँदै लैजानुपर्दछ । आफ्नो घरपरिवारमा नेपाली भाषाको प्रयोग गर्ने, नेपाली भाषा, साहित्य, कला सँस्कृति र परिवेशसंग सम्बन्धित कार्यक्रमहरुमा संगै लिएर जाने र उनीहरुको मनोभावना, कौतुहुलता र जिज्ञासाको सम्बोधन गर्ने गर्यौं भने पनि हामी उनीहरुभित्र बिस्तारै नेपालीपन हुर्काउँदै लैजान सकिन्छ । हुर्कदो नयाँ पुस्ताका नानीबाबुहरुलाई ‘सन्तान नेपालीको, सँस्कार विदेश’ को हुनबाट कसरी जोगाउने भन्ने अहिले हाम्रो सामु ठूलो चुनौती छ । यसतर्फ सम्बन्धित सबैको बेलैमा ध्यान जाओस्, बडा दशैं २०८० को मंगलमय शुभकामना । ***