काठमाडौं – स्पेनलाई पहिलोपटक फिफा महिला विश्वकपको उपाधि दिलाउन कप्तान ओल्गा कार्मोनाको भूमिका महत्वपूर्ण रह्यो । उनकै निर्णायक गोलमा आइतबार सम्पन्न फाइनलमा स्पेनले इंग्ल्याण्डलाई १-० ले हरायो । स्पेनलाई विश्वकप ट्रफी दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी ओल्गामा खुसीको सीमा थिएन ।
खेल सकिएपछि उनले ट्रफी चुमिन् । लगत्तै उनले अप्रत्यासित खबर पनि सुनिन् । त्यो खबर थियो आफ्नो बुबाको निधन । यो खबर सुनेपछि उनी एकाएक भावुक भइन् । साथीहरू जितको खुसीमा रमाउँदा ओल्गा भने परिवारका प्रमुख सदस्य गुम्दाको असह्य पीडामा थिइन् ।
उनका बुबा लामो समयदेखि बिरामी थिए । ओल्गाको बुबाको विश्वकप फाइनल हुनु दुई दिनअघि निधन भएको थियो । स्पेनिस फुटबल महासंघले पनि फाइनलपछि मात्र ओल्गा कार्मोनाले आफ्नो बुबाको निधनको खबर सुनेको पुष्टि गरेको छ । फाइनलमा ध्यान केन्द्रित गर्नका लागि साथी र परिवारका सदस्यले उनलाई बुबाको मृत्युको खबर नभनेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।