परम्परागत दलको विकल्पमा उदाएको भनिएको रास्वपाले आम चुनावमा राम्रै जनमत पायो । फलस्वरूप सडकमा होस् वा संसद् जनताका समस्यालाई उठान गर्न खोजे झैँ देखिन्छ । रास्वपाप्रति देखिएको जनलहरले आगामी निर्वाचनमा परम्परागत दलहरूको अस्तित्व संकटमा पर्ने हो कि भन्ने कोणबाट बहस र छलफल भइरहेका छन् । तथापि ठ्याक्कै समस्याको चुरो कुरो र सम्बोधन गर्ने उपायका विकल्प भने ठम्याउन नसकेको तर्कहरु सुनिन्छन् । हिजो समाजका लागि कुनै क्षेत्रबाट योगदान गरेकाहरू यो पार्टीमा आबद्ध छन्, त्यसोहुँदा नयाँ दलले केही गर्छन् कि भन्ने अपेक्षा आम जनतामा छ । रास्वपाको अबको लक्ष्य के ? यिनै विषयमा केन्द्रित रहेर नेता/पूर्वडिआईजी रमेश खरेलसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-
हुन त तपाईँ ढिलोगरी भित्रिनुभयो, तर पनि बाहिरबाट पार्टीलाई हेर्दा र समीक्षा बैठकमा सहभागी भइराख्दा रास्वपा स्थापनाको १ वर्षलाई कसरी हेर्नुहुन्छ ?
पार्टी स्थापनाका बेला जुन विषयलाई मुद्दा बनाउने भनेर प्रतिबद्धता जनाएको थियौं । त्यही विषयमा प्रतिबद्ध भएर अगाडि बढेको छ । त्यो भन्दा दायाँबायाँ छैन । अनुभवको कमीले केही सानातिना कमजोरी हुन सक्छन् । समग्रमा जुन कुरा स्थापित गराउन खोजिएको थियो, त्यसमा काम भइरहेको छ । जस्तै संसद् विकास कोष आवश्यक छैन भनेर संसदमा संकल्प प्रस्ताव दर्ता गराएको अवस्था छ । भ्रष्टाचारको विषयमा विपक्षमा भएपनि सरकारको कामकारबाहीको समर्थन गरेका छौं । यीबाहेक राष्ट्रियताको विषयमा पनि हामीले आवाज उठाइरहेका छौं । त्यसैले हामी मुद्दाबाट अलग भएका छैनौं, पार्टी स्थापनाको छोटो अवधिमा हामीले राम्रै काम गरिरहेका छौं ।
डिआईजी भइसकेको व्यक्ति नेपाल सुशासन पार्टी खोलेर चुनाव लड्नुभयो । जनताले नपत्याएपछि पाँच महिना नबित्दै रास्वपाबाट उम्मेदवार बन्नुभयो, त्यहाँबाट पन संसद् छिर्न सफल हुनुभएन । राजनीतिप्रतिको आकर्षण के रहेछ ?
हामीलाई देश कस्तो हालतमा छ भन्ने थाहा छ । यो नकारात्मक स्थितिमा गएको हुँदा चुप लागेर बस्नु हुँदैन । राजनीति भनेको मुहान रहेछ । यो नसुध्रिएसम्म कुनै पनि कुरामा सुधार हुने रहेनछ । जनता पुराना दलबाट निराशा छन् । हामीले देशका समस्या बुझेका छौँ । भोगेका छौँ । अब यसलाई सुधार गर्नुको विकल्प छैन । हामीले नै यसलाई सुधार नगरे कसले गर्छ भनेर म राजनीतिमा होमिएको छु । वास्तवमै भन्दा म समाज सेवा गर्न राजनीतिमा सक्रिय भएँ । देशमा चोरतन्त्रले नियम बनाएको छ । माफियातन्त्र छ । सबै काममा आफ्ना मान्छे छिराएर कसरी देश सिद्धाउन सकिन्छ, कसरी सात पुस्तालाई पुग्ने गरी पैसा कमाउने भनेर लागेका छन् । यो सबै म आफै बुझेर भोगेर आएको मान्छे हुँ ।
तपाईँ एक व्यक्ति अथवा पार्टीको प्रयासले बेतिथि अन्त्य हुन्छ ?
मैले देशमा भ्रष्टाचार कुशासन लगायतका कुरा धेरै देखेँ । अब यस्तो गर्ने व्यक्तिलाई विस्थापित गराउन सक्रिय हुनुपर्छ । जस्तो ः एउटा जिल्लामा काम गर्ने सबै क्षेत्रका मान्छेहरू हुन्छन् । त्यहाँका कामकाजमा एउटा माफिया तास खेल्न बस्छ । त्यहाँ तस्कर, व्यापारी, प्रहरी सबै हुन्छन् । त्यसमा एउटा सोझो आफ्नो मेहनतले काम गरिरहेको मान्छेको घरको बालकको अपहरण हुन्छ । त्यो खबर त्यहाँ आउँछ । बालक खोजेको जस्तो गरिन्छ । एउटा फिरौती रकम तोकिन्छ । परिवारलाई यति मागेको छ भनिन्छ । सबै मिलेर पैसा खाइन्छ । देशको मूल प्रवृत्ति यही हो । अहिले चर्चामा रहेको बालुवाटारको कुरा पनि त्यस्तै हो । हामी यसको विपक्षमा छौं । सुरुवाती छनक देखिँदैगर्दा जनताको साथ पाएका छौं । हाम्रो चाहाना राजनीति गर्नु होइन देश बनाउनु हो ।तर संसदीय मोर्चामा पार्टी नेतृत्व अलमल वा अन्योलमा देखियो । राष्ट्रिय, जनजीवीकाको सवालमा रास्वपाले अपेक्षा अनुसार काम गर्न नसकेको हो कि भन्ने प्रश्न उठेका छन् नि !
यसलाई अलमल भन्न मिल्दैन । संसदीय अभ्यासमा सांसदले उठाएका मुद्दा फलोअप गर्ने, त्यसलाई निष्कर्षमा पु-याउने भन्ने कुरा नहुँदो रहेछ । अहिले त्यस्तो संरचना वा प्रणालीको विकास नै भएको छैन । त्यहाँभित्र प्रवेश गरेपछि ‘यिनीहरू पनि बोल्ने त रहेछन् नि’ भन्ने देखिन्छ । तर कुनै पनि मुद्दा स्थापित गर्न, ऐन बनाउन ती काम हुनुपथ्र्याे, त्यसो हुन सकेको छैन । यसमा हाम्रो कमजोरी होइन, संसदीय परिपाटीमा भएको कमजोरी हो । जस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेटको कुरा गर्दा लम्मेतान छलफल हुन्छ । तर यसको निष्कर्ष के हो भन्दा एउटा पूर्ण विराम र कमा पनि परिवर्तन हुँदैन । यो गलत छ भन्न हामीले नै बोल्नुपर्ने भयो । पुरानै दलहरूले पनि बोलेको भए अझ प्रभावकारी हुन्थ्यो होला ।
भ्रष्टाचारविरुद्धको विषय, जनजीविका, राष्ट्रियताको विषयमा रास्वपाबाट जुन रूपमा आम जनताले अपेक्षा गरेका थिए, त्यो नभएको हो ?
७० वर्षदेखि भ्रष्टाचार गरेर लुटेर आफ्नो परिवार आफन्त पालेर आएको राजनीतिक दलले जनताको काम गर्न आएका दललाई काम गर्न दिन्छन् र ? भ्रष्ट र कुकाममा लागेका मान्छेले अरूको प्रगति देख्न सक्दैन । समाज यसरी हुर्किएको छ । पार्टीहरू जुन नीति र सिद्धान्तमा जन्मिएका थिए अहिले भएका नेताहरू त्योभन्दा फरक छन् । सदनमा पनि सबैको अनुहार हामीतिर मात्र हुन्छ । यिनीहरूले के गर्छन्, के बोल्छन्, के उठाउँछन् भनेर तर्सिएका छन् । सदनलाई इभेन्टको रूपमा हेर्नुपर्छ भन्ने हाम्रो माग छ । यस्ता-यस्ता कुराहरू गरेपछि हामीलाई आरोप नलागे कसलाई लाग्छ त ? पहाडी, हिमाली क्षेत्रमा आज पनि पुरानै समस्या छ । मान्छेको खुट्टामा चप्पल छैन । अस्पतालमा बेड छैन । खानेपानी छैन । स्कुलमा बच्चा भर्ना गर्ने पनि पाएका छैनन् । राज्यबाट पाउनु अधिकार खोसिएको छ । सरकार भएर पनि बेवास्ता छ । यस्ता कुरा हामीले उठाउँदा अरूलाई टाउको दुखेर हामीलाई मिथ्या आरोप लाग्छ भने हामी सामना गर्ने तयार छौँ ।
वर्तमान सरकारको आयु छोटो देखेर यसो भन्नुभएको हो ?
अहिले हामी सरकारमा छैनौँ । सरकार ढाल्ने र जोड्ने खेलमा हामी छैनौँ । अहिले जो–जो मिलेर सरकार बनाउनु भएको छ । उहाँहरूको सम्बन्ध राम्रो भयो भने टिक्ने हो । कुनै अरू पार्टीले चाहेर ढाल्ने भत्काउन कुरा हुँदैन । फरक दल भएकाले सबैको विचार मिल्दैन । विचार नमिलेपछि मन्त्रालय-मन्त्रालयको जनसम्पर्क हुँदैन । त्यो कारण जनताले दुःख पाउँछन् । हाम्रा माननीयहरूले मन्त्रिपरिषद् बैठकमा यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राखेको ब्रिफिङ छ । तर, अहिले नै यो सरकार दिनगन्ती सुरु गरौं वा कुनै दलसँग मिलेर नयाँ सरकार बनाइहालौँ भन्ने हतार रास्वपामा छैनौँ । हामी आउने दिनमा थप राम्रो काम गर्छौँ, त्यो रास्वपाको लागि होइन, नेपालको विकासको लागि हुन्छ ।
तपाईँको पार्टीले ‘नयाँ युगको संकल्प’ भन्ने नारा बोकेको छ । यो कस्तो परिकल्पना हो ?
अहिलेको अवस्था आम नागरिकले रुचाएका छैनन् । हामी राजनीतिकलगायत धेरै हिसाबले पछाडि छौँ । राजनीति धेरै धमिलो भएको छ । त्यसलाई हामीले सफा गर्नुपर्छ । अहिले भएको अवस्थालाई परिवर्तन गरेर आम नागरिकले सोचेको जस्तो गर्ने गरी नयाँ युगको परिकल्पना गरेका छौँ । अबको पाँच वर्षमा रोडम्यापमा प्रवेश गर्छौँ । त्यसको २५ वर्षमा नयाँ युगको स्थापना गर्न सक्छौँ । दस्तावेजमा व्यापक छलफल गरेर सबैको सहमतिमा छलफल भइरहेको छ ।
अब २०८४ को निर्वाचनको तयारी हो ?
अब हामी आम जनतालाई संगठित गर्छौं । हाम्रो ध्यान संगठन विस्तारमा केन्द्रित हुन्छ । ठगहरू हेरेर अनुसन्धान गरेर कारबाही गर्छौं । हामीलाई क्वालिटीको मान्छे चाहिएको छ । फेस भ्यालु भएका समाजमा नाम कमाएका व्यक्ति खोजिरहेका छौँ । काम गरेर सेलिब्रेटी हुने हो र त्यो कारणले हाम्रो पार्टीलाई सेलिब्रेटीको पार्टी भनिन्छ । इमान्दार, नैतिक र निष्ठावान् व्यक्ति हुनुपर्छ । हामी सुधार्न आएका हौँ । यो कुनै व्यक्तिगत स्वार्थका लागि आएको पार्टी होइन ।
यो देश बनेन भन्ने चिन्ता सबैतिर छ, गुनासो पनि छ । निराशाबीच आशाको ‘दीप’ कसरी बल्छ ?
यसको जवाफ खोज्न धेरै टाढा जानुपर्दैन । अग्लो डाँडामा गएर हाम्रो शहर हेर्नुस् । म सानो छँदा यो शहरमा आज भएको घरको सानो प्रतिशत पनि थिएन, सबैजसो ठाउँमा खेतबारी थियो । आज घरैघर छ खेत देखिँदैन । नेपाली जनताले पसिना बगाएर, बुद्धि चलाएर धन उत्पादन गरेर ती घरहरू बनाएका हुन् । त्यही भएर नेपालीहरू अल्छी छन् गर्न सक्दैनन् भन्ने भ्रममा नपर्नुहोला । पसिना बगाउनुभएको छ, बुद्धि चलाउनुभएको छ र यत्रो शहर बनाउनुभएको छ । तर फेरि यो शहरमा गएर हेर्नुस्, प्लानिङ छैन, बाटोघाटो छैन । त्यो भनेको नेपाली जनताको भूल होइन राम्रो नेतृत्व थिएन । नेतृत्व राम्रो भएको भए यो उपत्यका स्वर्ग नै हो । गर्मीमा धेरै गर्मी हुँदैन, जाडोमा धेरै जाडो पनि हुँदैन । खाडी क्षेत्रमा हाम्रा दाजुभाइ जो पसिना बगाउनुहुन्थ्यो त्यो नरक थियो र पनि उहाँहरूले त्यहाँ स्वर्ग बनाउनुभएको छ । हामीलाई भगवानले स्वर्ग दिएको थियो तर हामीले त्यसलाई नरक बनाउने प्रयास गरिरहेका छौँ । यो भनेको नेतृत्वको अभाव हो । इतिहास फर्केर हेर्दा पनि ३० वर्षको पञ्चायतपछि फेरि प्रजातन्त्र आयो । फेरि एउटा सानो समूहले यो मल्टीपार्टी भएन, राजतन्त्र पनि भएन हामीलाई संविधानसभा र गणतन्त्र चाहिन्छ भन्दा हामी पनि हाँस्यौ कसले ल्याउँछ, गणतन्त्र र संविधानसभा नेपालमा भनेर । तर भयो नि त ।
अन्त्यमा रास्वपामा धैरै क्षेत्रका अब्बल मानिसहरू हुनुहुन्छ । तर ‘धेरै बिराला भए मुसा मार्दैन’ पनि भनिन्छ ?
एउटामात्रै मुसा भए त्यो हुन्थ्यो होला । तर धेरै मुसा भएकाले मारेरै सकिँदैन कि भन्ने छ मलाई त ।