लस एन्जलस – अमेरिकाको क्यालिफ़ोर्नियामा अब नेपालीहरुले पशुपतिनाथको मन्दिर निर्माण गर्ने भएका छन । मन्दिरका लागि त्यहांका नेपालीहरुले स्थापना गरेको पशुपतिनाथ फाउन्डेसनले बनिबनाउ भवन खरिद गरिसकेको छ । हालसम्म चर्च रहेको सो भवन मन्दिरका लागि फ़ाउन्डेशनले खरिद गरेको हो ।
लस एन्जलसस्थित पशुपतिनाथ फाउन्डेसनले क्यालिफोर्नियाको नर्वाक केनी स्ट्रिटमा बिक्रीमा रहेको चर्चलाई मन्दिर बनाउने उद्देश्यले दस लाख पचास हजार अमेरिकी डलर (करिब ९ करोड रुपैयाँ) मा किनेको छ ।
खरिद प्रक्रियाका क्रममा फाउन्डेसनले सोमबार पाँच लाख पचास हजार अमेरिकी डलर नगद बुझाएको छ भने बाँकी रकम बैंकले लगानी गरेको छ । ‘अथक प्रयासपछि फाउन्डेसनले चर्च किन्न सफल भएको छ,’ फाउन्डेसनका प्रथम उपाध्यक्ष गोकुल ढकालले भने, ‘अब त्यहाँ जति सक्दो चाँडो नेपालीको सांस्कृतिक एवं धार्मिक धरोहर मानिने आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्नेछौं ।’
यो अभियानका लागि क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपाली समुदायको ‘पशुपति फाउन्डेसन’ सक्रिय रूपमा लाग्दै आएको थियो । श्रीमद्भागवद पुराण लगाउनेदेखि चन्दा संलकनसम्म गरेर फाउन्डेसनका तर्फबाट चर्च खरिदका क्रममा अध्यक्ष भक्त थापा, प्रथम उपाध्यक्ष ढकाल, कोषाध्यक्ष पुन्नाखर ऋषि ढकाल, सदस्यद्वय एकराज नारायण पाण्डे र राम लामाले संयुक्तरूपमा कागजी प्रक्रिया पूरा गरेका थिए ।
महासचिव प्रेम गुरागाईंद्वारा जारी समुद्रपारिलाई प्राप्त विज्ञप्तीकाअनुसार खरिद गरेको उक्त चर्चमा एउटा ठूलो भवनका साथमा ६ वटाभन्दा बढी कोठा, पूजास्थल, २ सय ५० भन्दा बढी सहभागी अटाउने सभाहल, भान्सा कोठा, बच्चाहरू खेल्ने प्रशस्त ठाउँ, तीन बेडरुम, दुई बाथरुम छ । सात समुद्रपारि नेपाली संस्कृति, रीति रिवाज र परम्पराको निरन्तरता र जर्गेना गर्ने प्रवासी सपना पूरा हुने विज्ञप्तीमा उल्लेख छ ।
स्मरण रहोस केही बर्ष अगडि जापानमा पनि समाजका केही अगुवाहरुले हिन्दुहरुको आस्थाको केन्द्रकोरुपमा एउटा मन्दिर बनाउने अभियानले निकै चर्चा पाएको थियो, तर कालान्तरमा उक्त अभियानले पूर्णता पाउन सकेन । जापानमा नेपालीहरुको संख्यामा आएको बढोत्तरीसंगै नेपाली संस्कारअनुसार यतै बिबाह, ब्रतबन्ध, श्राध्द लगायतका शुभ-अशुभ कर्महरु गर्ने चलन पनि बढ्दै गईरहेको परिप्रेक्ष्यमा एउटा मन्दिरको थप आवश्यक्ताको महसुश सर्बत्र गर्न थालिएको भए पनि त्यसतर्फ़ कतैबाट पहलकदमी हुन सकेको छैन । ***