समाचार सुन्नुहोस् :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन् । प्रचण्डले फेरि सरकारमा सहभागी भएर सहकार्य गर्न पनि आग्रह गरे । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटमा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय नगर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीले बधाई दिनुभयो । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने हल्लाबारे जिज्ञासा राख्नुभयो,’ प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘राजनीतिक स्थिरताका लागि सहकार्य गरौं भन्नुभयो ।’ चैत ६ गते रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा विजयी भएपछि रविले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने औचित्य नरहेको टिप्पणी गरेका थिए ।
कुनै कालखण्डको भ्रष्टाचार छानबिन गर्ने बुँदा न्यूनतम् साझा कार्यक्रमबाट हटाएको भन्दै रविले सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनी दिएका थिए ।प्रचण्डले रविसँगको सत्ता सहयात्रा स्मरणीय रहेको र भविष्यमा पुनः सरकारमा सहकार्यको प्रस्ताव राखेको स्रोतले बतायो । रवि पुस ११ गतेदेखि प्रचण्ड सरकारमा गृहमन्त्री थिए ।