काठमाडौं – नेपाली कांग्रेसका दुई सांसद्ले बाँदर विदेश निर्यात गर्ने प्रस्ताव अघि सारेका छन्। कांग्रेस उपसभापति समेत रहेका धनराज गुरुङले मंगलबार संसदमा उक्त प्रस्ताव राखेको हुन् भने यसअघि कांग्रेसकै रामहरि खतिवडाले यस्तै बताएका थिए।
मंगलबार गुरुङले भने, ‘श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ। हाम्रा गाउँमा पनि अहिले बाँदर आतंक मच्चिएको छ। बाँदर आतंक फैलिएको छ। हामीले भन्दैछौं- खेतबारी बाँझो राख्नु हुँदैन। कृषिमा आधुनिकीकरण गरौं। कृषिमा वैज्ञानिकीकरण गरौं। हामी एकातिर भन्दैछौं। अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ। हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला।’
एकातिर किसानलाई राहत हुने अर्कातिर आर्थिक संकट मोचनका लागि सहयोग हुने भन्दै उनले निर्यातको आइडिया ल्याएको उल्लेख गरे। इकोसिष्टमको कुरा उठाएर ‘डलरवादी’ले आफ्नो कुरामा आलोचना गर्ने डर पनि उनले उल्लेख गरे। उनले थपे, ‘अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दा ठिकै हुन्छ जस्तो लाग्छ।’
यसअघि वैशाख ३ गते सांसद रामहरि खतिवडाले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताएका थिए। ‘समाचार पढेको थिएँ, सुनेको थिएँ। श्रीलंकाले बाँदरलाई चीनतिर निकासी गरेछ र बेचेछ। हाम्रो पनि आर्थिक संकट परिराखेको छ। केही बाँदरहरू चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभामुखको ध्यानाकर्षण गर्दछु,’ उनको भनाइ थियो।