मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

डडेलधुराकी पवित्रा साकीले गत वर्ष वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन् ।

टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे । कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग । हिँड्दा हिँड्दा मेरा खट्टा थागिगा: भिडिओमा उनले भनेकी थिइन् ।

ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन् धेरै टिकटक भिडिओ बनाउन थालिन् । बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो र डडेलधुराकी पवित्रा साकी मिस पबी भनेर चिनिन थालिन् । बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन् ।

आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन् । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाकी मिस पबी बोल्दा अनि सुन्दा ‘निकै मिठो’ लाग्ने डोटेली भाषामा समसामयिक विषयहरू समेटेर टिकटक बनाउँछिन्  ।

उनले आफ्ना साथीभाइहरूबाट टिकटकबारे थाहा पाएकी थिइन्। एक वर्ष अघिसम्म उनको टिकटक अकाउन्ट थिएन। अरूकै टिकटक हेरेर रमाउने गर्थिन् । ‘सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला,’ मिस पबीले भनिन्। ‘मलाई मेरै भाषाले चिनायो । त्यसैले डोटेली भाषाप्रति गर्व छ ।’

सुदूरपश्चिमवासीहरू पनि उनले कमाएको ख्यातिप्रति खुसी रहेको आफूले अनुभूति गरेको उनको भनाइ छ । विगतमा आफ्नो भाषा बोल्न लाज मान्नेहरूले हाल गर्व लाग्ने आफूलाई भन्ने गरेको उनी बताउँछिन् । नेपालको सुदूरपश्चिममा बोलिने भाषा सुन्दा सुरुसुरुमा के यो नेपालकै भाषा हो भनेर समेत प्रश्न गर्ने गरेको अनुभव मिस पबीको छ ।

उक्त क्षेत्रका एक जना अग्रज पत्रकार डीआर पन्त ठाउँ अनुसार डोटेली भाषाको लवज फरक भए पनि शब्द र त्यसको अर्थ भने एउटै हुने बताउँछन् । ‘आफ्नै भाषामा धेरैले टिकटक बनाए पनि युवापुस्ताकी ‘ग्ल्यामर’ भएकाले मिस पबीलाई धेरैले मन पराएको पाइन्छ,’ उनले भने ।

पछिल्लो ११ महिनामा मिस पबीको जीवनमा थुप्रै परिवर्तन भएका छन् । सुरुवाती चरणमा घाँस दाउरा काटेको, पशु चौपाया हेरेको अनि मल फालेको भिडिओहरू पोस्ट गर्ने उनी हाल नाचगान, रमाइला ठाउँहरूको बयान गर्नेदेखि सन्देशमूलक भिडिओहरूबाट प्रशंसा बटुल्दैछिन् । -बीबीसी

तपाईको प्रतिक्रिया