काठमाडौं – पपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् । यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनित भएकी थिइन् । बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिन्दै ग्रामीको इतिहास आफ्नो पोल्टामा पारेकी हुन् । २० वर्षयता सोल्टीको रेकर्डलाई कसैले उछिन्न सकेको थिएन ।
पछिल्लो एल्बम ‘रेनेसान्स’बाट बियोन्सेले उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक विधामा जित हासिल गरिन् । उनको गीत ‘कफ इट्’ले सर्वश्रेष्ठ आरएण्डबी विधामा जित्यो । ‘म धेरै भावुक नहुन कोसिस गर्दैछु,’ ग्रामी समारोहको टेलिकास्टमा उनले भनिन्, ‘म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’ उनले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिइन् ।
उनका अन्य दुईवटा अवार्ड चाहिं लाइभ टेलिकास्ट नभएको समयमा दिइयो, जसमा गीत ‘ब्रेक माइ सोल’लाई नृत्य/इलेक्ट्रोनिक रेकर्ड र ‘प्लास्टिक अफ द सोफा’लाई आरएण्डबी विधाका लागि पुरस्कृत गरियो । बियोन्सेले यसअघि नै एचआईभीविरुद्धको लडाइँले नृत्य संगीतमा उनको रुचि र लैंगिक अल्पसंख्यक समुदायको ऐतिहासिक सम्बन्धलाई उक्त एल्बम ‘रेनेसान्स’मा प्रभावित तुल्याएको बताएकी थिइन् ।
ह्यारी स्टाइल्सले शीर्ष पुरस्कार मानिने एल्बम अफ द इयर जिते । उनको एल्बम ‘ह्यारीज हाउस’ वर्ष एल्बम घोषित भयो । विश्व संगीत उद्योगको प्रतिष्ठित मानिने ग्रामी समारोह नेपाली समयानुसार आज (सोमबार) बिहान पौने ७ बजेदेखि सुरु भएको थियो । कार्यक्रममा एडेल, ह्यारी स्टाइल्स, टेलर स्वीफ्ट, लिज्जो, सानिया ट्वेन र स्टिभ वन्डर लगायत सहभागी थिए ।