नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए । त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरे । बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन् । नेपालमा स्वयम्भू, काठमाडौँ विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाङ्कन भएको थियो । नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनि थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिए ।
“उहाँहरूसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाएँ । उहाँहरूको काम गर्ने शैली परिपक्व छ”, प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने, “दिग्गज कलाकारहरूको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गथ्र्यो । निर्देशकले नेपाली दृश्य खिच्नलाई कुनै सम्झौता गर्नुभएन ।” छायाङ्कन टोलीमा भारतीय टोलीमा एक सय ५५ जना सदस्य र नेपालीतर्फ कलाकारबाहेक छायाङ्कनमा ३० देखि ३५ जना नेपाली प्राविधिक खटिरहे । टोलीका लागि ६०÷६५ गाडीको प्रयोग चौबिसै घण्टा रहन्थ्यो । लाइन प्रोड्युसर आचार्यका अनुसार छायाङ्कनको दौरान लगभग तीन सयको हाराहारीमा हेलिकप्टर उडान गरिएको थियो ।
“हामीले फाप्लो–लुक्ला, लुक्ला–नाम्चे, नाम्चे–एबिसी, कालापत्थर, कालापत्थर–काठमाडौँ, काठमाडौँ–मनाङको यात्रा हेलीबाटै गरेका थियौँ”, उनले भने । उचाईको छायाङ्कन भएपश्चात् केही सिरिज तथा फिल्महरू नेपालमा छायाङ्कन हुन् आएका छन् । “सरकारका तर्फबाट केही सेवासुविधा पाए छायाङ्कनमा आउने सङ्ख्या बढ्छ जस्तो लाग्छ । कानूनी अड्चनसँगै विविध समस्याहरू छन् । यद्यपि, उचाई प्रदर्शन भएपछि अन्य प्रोडक्सन हाउसलाई नेपालले लोभ्याउनेमा विश्वत छु”, प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने । डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन् । उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयास गरेता पनि त्यो सफल हुँदैन ।
डेन्जोङ्पाको निधनपश्चात् उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा फिल्ममा छ । नेपाली गाइड परिणिती चोपडाले उनीहरूलाई हिमाल पु-याउने र घुमाउने भूमिका निर्वाह गरेका छन् । यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै मूल कथा हो ।