पेरिस – वर्षेनी मनाउंदै आएको ASPAC Evening हिजो पेरिसमा रहेको युनेस्कोको मुख्यालयमा मनाइयो । युनेस्कोको भौगोलिक क्षेत्र विभाजन अन्तरगत एशिया तथा प्रशान्त क्षेत्रका ५२ वटा मुलुकहरु चौथो ग्रुपमा रहेका छन् । सो अवसरमा मुख्य अतिथिको रुपमा युनेस्कोका महानिर्देशक H.E. Madam Irina Bokova तथा बिभिन्न देशका राजदूतहरु, युनेस्कोका उच्च अधिकृतहरु, फ़्रेन्च गण्यमान्य व्यक्तिहरु लगायत अन्य बिशिष्ट पाहुनाहरुको उपस्थिति थियो ।
सो अवसरमा नेपालको तर्फबाट राजदूत मोहनकृष्ण श्रेष्ठ तथा श्रीमती सजना श्रेष्ठ, सहचारी भरत खनाल तथा परिवारका साथै राजदूतावासबाट निमन्त्रणा गरिएका पाहुनाहरुको पनि उपस्थिति थियो।
पाहुनाहरुलाई स्वागत गर्दै युनेस्कोका लागी अष्ट्रेलियाका राजदूतरस्थायी प्रतिनिधि H.E. Ms. Geeta Kamath ले अस्प्याक सांझको बारेमा वर्णन गर्दै एशिया प्यासिफिक क्षेत्र बिभिन्न कला, संस्कृति, धर्म तथा जनजातीको बसोबास भएको मुलुकहरुको इलाका भएको तथा प्राकृतिक सौन्दर्य लगायत मानवीय श्रोत साधनको अपार भण्डार भएको बताउनुभयो । वहांले यस सांझले एशिया प्रशान्त क्षेत्र तथा विश्वको अन्य भागहरु बीच समझदारी तथा सहयोगको भावना बृद्धि गर्नमा मद्दत पुग्ने आफ्नो विश्वास पनि प्रकट गर्नुभएको थियो ।
प्रमुख अतिथि Madam Bokova ले प्रत्येक वर्षजस्तै मनाउंदै आएको एशिया प्यासिफिक सांझमा सदा झै भाग लिन पाउंदा आफूलाई धेरै खुशी लागेको तथा यस क्षेत्रमा युनेस्कोले धेरै आर्थिक सामाजिक कार्यक्रमहरु कार्यान्वयन गरी सफलता प्राप्त गरिरहेको छ भनी आफ्नो उदगार पोख्नु भयो । युनेस्कोको सामु हाल आर्थिक श्रोत साधनको कमीको चुनौती आई रहेता पनि …Education FirstÚ कार्यक्रम अन्तरगत स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूलमा पठन पाठन गराउने उद्देश्यलाई उच्च प्राथमिकतामा राखी कार्यक्रमहरु संचालन हुंदै आएको कुरा पनि भन्नुभयो । वहांले एशिया प्रशान्त क्षेत्र धेरै नै बिबिधताहरुले भरिपर्ण भै आर्थिक तथा सामाजिक विकासमा ठूलो फड्को मार्न सक्षम भएकोले आउने दिनहरुमा यस क्षेत्रका जनताहरुको भविष्य उज्ज्वल देखेको छु भनी आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।
सो अवसरमा प्रस्तुत गरिएका खानाहरु त्था सांस्कृतिक नृत्यहरुबाट प्रभावित हुनुभएका महानिर्देशक Madam Bokova ले युनेस्को तथा एशिया प्रशान्त क्षेत्रका मुलुकहरु बीच रहि आएको सम्बन्ध पारस्परिक सहयोगमा आधारित भै झन् मजबुत तथा घनिष्ठ भै आउने र सो कार्यका लागी आफू तल्लिन भै लाग्ने भनी दृढता पनि प्रकट गर्नुभएको थियो ।
नेपाल लगायत करिव २० वटा देशका स्थायी नियोगहरुले आआफ्नो खानाहरु राख्नुको अलावा केही मुलुकहरुले सांस्कृतिक नृत्यहरु प्नि प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट सुश्री अलिशा गुरुङ्गले ‘गैरी खेतको शिरै हान्यो’ गीत प्रस्तुत गर्दा पाहुनाहरुले खचाखच भरिएको हलमा सबैले अत्यन्त चाख मानी हेरेका थिए । नेपाली खाना तथा नृत्यले आगन्तुक पाहुनाबाट प्रशंसा पाएको थियो । ***