आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं अस्ट्रेलियामाथि सहज जित निकाल्दै जापान यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ। एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा जापानले अस्ट्रेलियालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।

दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेलको अन्त्यतिर परिवर्तित खेलाडी काओरु मिटोमाले दुई गोल गर्दै जापानलाई सहज जित दिलाए। ८४औं मिनेटमा एओ तानाकाको स्थानमा मैदान छिरेका मिटोमाले ८९औं मिनेटमा गोल गर्दै जापानलाई १–० को अग्रता दिलाए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै २–० को जित पक्का गरे।

यो जितसँगै समूह ‘बी’ मा जापानले ९ खेलबाट २१ अंक जोडेको छ। पराजित भएको अस्ट्रेलियाले अब विश्वकपमा स्थान बनाउन दुई प्ले अफ खेल खेल्नुपर्ने हुन्छ। अस्ट्रेलियाको ९ खेलबाट १५ अंक रहेको छ। यो समूहबाट साउदी अरब पनि विश्वकपमा छनोट भइसकेको छ। साउदी अरेवियाको ८ खेलबाट १९ अंक छ।

तपाईको प्रतिक्रिया