काठमाडौं – पपुवा न्युगिनीविरुद्ध नेपालले शानदार दोस्रो जित निकालेको छ । नेपालले ७ विकेटले खेल जितेको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनी(पीएनजी)ले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा विकेट गुमाउँदै भेटाएको हो । नेपालका लागि आरिफ शेख नटआउट रहँदै ५९ रनको अर्धशतकीय पालि खेले । त्यस्तै रोहित पौडेल पनि नटआउट रहँदै ४४ रन जोडेका थिए ।
नेपालले पहिलो विकेटकारुपमा ओपनर ब्याटसम्यान आशिफ शेखलाई १० रनमा गुमाएको थियो । त्यस्तै दोस्रो विकेटकारुपमा कुशल भुर्तेल र तेस्रो विकेटकारुपमा दिपेन्द्रसिंह एरीलाई गुमाएको हो । भुर्तेल ६४ बल खेल्दै ५० रनमा आउट भएका हुन् । भने एरी शून्य रनमा नै आउट भएका हुन् ।
पीएनजीका लागि आसड भलाले ९६ बलको सामना गर्दै ४५ रन जोडे । त्यस्तै लेगा सियकाले ३२ बल खेल्दै २० रन जोडेका थिए । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए । त्यस्तै करन केसी, आरीफ शेख, दिपेन्द्र सिंह एरी, पवन शराफले समान १/१ विकेट लिए । नेपालसँग टस हारेर पहिले ब्याटींग गरेको पीएनजीले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७३ रन जोडेको हो ।