काठमाडौँ – आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्याण्ड विजयी भएको छ । दोस्रो निकाल्ने क्रममा इंग्ल्याण्डले घरेलु टोली न्युजिल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
२०४ रनको लक्ष्य इंग्ल्याण्डले ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्याे । उसका लागि नटाली स्काइभरले सर्वाधिक ६१ रनको योगदान दिइन् । १०८ बलको सामना गरेकी स्काइभरले ५ चौका प्रहार गरिन् । कप्तान हेदर नाइटले ४२, सोफिया डंकली ३३ र तासिन बेउमोन्टले २५ रन जोडे ।
न्युजिल्याण्डका लागि फ्रान्सिस म्याकेले ४, जेस केरले २ तथा ली तहुहु र ब्रुक हलिडेले १-१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि अकल्यान्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि मेडलिन ग्रिनले अविजित ५२ रनको योगदान दिइन् । ७५ बलको सामना गरेकी उनले ४ चौका र १ छक्का प्रहार गरिन् । कप्तान सोफी डेभिनले ४१ तथा अमेलिया केर र एमी सेटरथवेटले २४-२४ रन जोडे ।
इंग्ल्याण्डका सोफी एक्लेस्टोन र क्याथरिन क्रसले ३-३ तथा सार्लेट डिनले २ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । यो जितसँगै इंग्ल्याण्ड ५ खेलमा ४ अंक जोडेर चौथो स्थानमा उक्लिँदा पराजित न्युजिल्यान्ड ६ खेलबाट समान अंकका साथ पाँचौं स्थानमा छ ।