न्यूयोर्क– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्यूयोर्कमा जापानी संस्थाका प्रतिनिधिसँग भेट गरेका छन् ।
प्रचण्ड नेतृत्वको टोलीले लुम्बिनीको बिकासका बारेमा कोरियन र जापानी संस्थाका प्रतिनिधिलाई भेट्नु भएको थियो । भेटमा अन्तर्राष्ट्रिय समिति बनाएर लुम्बिनीको बिकासमा लाग्ने सहमति भएको थियो ।
लुम्बिनीको बिकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली तीन दिन अघि अमेरिका प्रस्थान गरेको थियो । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं कांग्रेस नेता डाक्टर मीनेन्द्र रिजाल, मनोज बहादुर श्रेष्ठ, प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागी छन् । माओवादी अध्यक्ष प्रचण्ड आउँदो २७ गते काठमाण्डू फर्किने कार्यक्रम छ ।
यसैबीच प्रचण्डले मंगलबार राति संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग पनि भेटवार्ता गर्नुभएको छ ।
लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकसमेत रहेका प्रचण्डले लुम्बिनी विकासको गुरुयोजनामा सहयोग गर्न गरेको प्रस्तावलाई मुनले स्वागत गरेका समिति सदस्य एवं कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।