बैतडी- श्रीमती र चार वर्षीया छोरीको हत्याको आरोपमा डोटीस्थित नेपाली सेनाको भैरव गणमा कार्यरत चन्द्रबहादुर ऐरीलाई प्रहरीले पक्राउ गरेको छ ।
डोटी प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा कञ्चनपुर-५ गुलरियाका ऐरीलाई पक्राउ गरी हिजो राति बैतडी ल्याइपुर्याएको हो ।
मृतक महिलाका बुवा डडेल्धुरा आलिताल-८ का रामबहादुर साउदले कञ्चनपुरको कृष्णपुरबाट बैतडीको खोड्पे ल्याएर छोरीको हत्या गरेको भन्दै आफ्नै ज्वाइँविरुद्ध उजुरी दर्ता गराएपछि ऐरीलाई पक्राउ गरिएको बैतडीका प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताउनुभयो ।
मृतकका माइती र घरका व्यक्तिहरूलाई बोलाएर उक्त हत्याकण्डको अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।
यही असोज १ गते बैतडीको सिद्धेश्वर-९ मा शरीरमा आगो लगाएर २४ वर्षीया धनसरी ऐरी र चार वर्षीया छोरी सरस्वती ऐरीको हत्या गरिएको अवस्थामा स्थानीय बासिन्दाले उनीहरूको शव फेला पारेका थिए ।
धनसरीको शरीर आधा जलेको र छोरी सरस्वतीको टाउको मात्रै घटनास्थलमा फेला परेको थियो ।