मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रानालाई आईजीपी नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । आईजीपीका लागि दाबेदार तीनमध्ये राना सबैभन्दा वरिष्ठ हुन् । उनी महानगरीय आयुक्त कार्यालयका प्रमुख थिए ।
गृहमन्त्री विजयकुमार गच्छदार भीष्म प्रसाइँलाई महानिरीक्षक बनाउनुपर्ने अडान नछाडेपछि एक महिनासम्म नियुक्ति अड्किएको थियो । सरकारले कामु तोक्न नसक्दा आईजीपी रविन्द्रप्रताप शाह बिदामा बस्न पाएका थिएनन् । उनी एक महिनाअघि नै बिदामा बस्नुपर्ने थियो । शाहले शुक्रबार अवकास पाउने भएपछि सरकारलाई बिहीबार नै नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने दबाब थियो ।
नवनियुक्त आईजीपी रानालाई बिहीबार नै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । अवकास प्राप्त आईजीपी शाहको पनि बिहीबार नै बिदाइ गरिनेछ । ****