‘प्रधानमन्त्रीसँग प्रचण्ड पनि वाक्क भएका छन्’
काठमाडौं– नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले दसैं अघिनै प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर नयाँ सरकार बनाउने ठोकुवा गरेका छन् ।
ओलीले नयाँ सहमतिको सरकारकोलागी माओवादीलाई कुरेकोले केही ढिला भएको बताए । उनले भने– ‘मैले माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशिल कोइरालासँग कुरा गरेको छु । उहाँहरु पनि भित्रीरुपमा सरकार परिवर्तनको लागि तयार हुनु हुन्छ । माओवादी अध्यक्ष पनि भट्टराई सरकारदेखि वाक्क भइसकेको अब परिवर्तन गर्ने पक्षमा पाए ।’
ओलीले दलहरुले काम चलाउ सरकारका प्रधानमन्त्री भट्टराईको विकल्प दिन नसकेकोले राष्ट्रपति केही मौन जस्तो देखिए पनि उनी चुप लागेर नबसेको दावी गर्दै दलहरुले विकल्प दिए राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउने र त्यसलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरे ।
सहमतिको सरकारको लागि आफू प्रधानमन्त्रीको दावेदार भएको स्विकार्दै आफू प्रधानमन्त्री भए अहिलेसम्मका प्रधानमन्त्री भन्दा राम्रो काम गरेर देखाउन सक्षम भएको बताए । उनले भने– ‘अहिलेसम्मका बेथिति, भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सकारात्मक बाटोमा अगाडि बढाउन म सक्षम छु । फेरि म अरु जस्तो सिंहदरवारमा फोटो झुण्ड्याउन प्रधानमन्त्री बन्न खोजेको पनि होइन ।’
उनले सहमतिको सरकारको लागि पहिलो विकल्प नेपाली काग्रेसलाई दिए पनि कांग्रेसले नसके नेकपा एमालेले नेतृत्व लिन तयार रहेको बताए ।
संविधानसभाको पुनःस्थापना हुनै नसक्ने ठोकुवा गर्दै उनले पुनःस्थापना गरिए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए । उनले ताजा जनादेशमै जानुपर्ने आवश्यकता औल्याए ।
नेपालको विकासमा भारतको सहयोग र सदभाव अनिवार्य भए पनि नेपालमा सरकार बनाउने कुरा नेपालीहरु आफैको भएको भन्दै उनले भारतले अहिले नेपालमा यस र उसको सरकार बनाउन भनेर नभनेको स्पष्ट पारे ।
आफ्नो भारतसँग राम्रो सम्बन्ध भए पनि आफ्नो भारत भ्रमण स्वास्थ्य उपचारको लागि भएको र भारतले आफूले प्रधानमन्त्री बन र नबन भनेर नभएको बताए ।
नेकपा एमाले कुनै पनि हालतमा जातीय राज्यमा नजाने स्पष्ट पार्दै एमालेबाट जातीय राज्य मान्ने केही मान्छे गए पनि केही नहुने बताए । ***