काठमाडौं– चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालसँग सम्बद्ध नभएका ब्यक्तिहरुद्वारा पार्टीको नाम र झण्डाको दुरुपयोग गरेर केही व्यक्तिहरु महाधिवेशनको नाममा कार्यकर्ता, शुभेच्छुक र समर्थकहरुलाई भ्रम पार्ने गरी गतिविधि गरेको भन्दै पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ ।
पार्टीले बिहीबार विज्ञप्ति प्रकाशित गरेर निर्वाचन आयोगमा रहेको पार्टीको ५८ सदस्यीय आधिकारिक कमिटीमा नाम नरहेका भूमिराज निरौला र शिवबहादुर तामाङलगायतका केही पार्टीप्रति सम्बद्ध नरहेका ब्यक्तिहरुले पार्टीको महाधिवेशन भनेर राजधानीमा गतिविधि गर्न लागेको काम पूर्ण रुपमा निर्वाचन ऐन विपरीतको कार्य भएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको छ ।
पार्टी अध्यक्ष हिमालय भक्त प्रधानाङ्ग र महासचिव बद्रीप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण पत्रकार, मानवअधिकारवादी, कार्यकर्ता, सुभेच्छुक, नागरिक समाजलाई चुरेभावर क्षेत्रका जनताको भावनामाथि कुठाराघात गर्ने यस्ता क्रियाकलाप गर्ने तत्वहरुको भ्रममा नपरी सत्यको पक्षमा उभिनु हुन समेत आह्वान गरिएको छ ।
विज्ञप्तिमा चुरेभावर क्षेत्रका जनताहरुको आन्दोलनका उपलब्धिलाई तुहाएर पश्चगमन तिर फर्काउने षड्यन्त्रको भ्रममा नपर्न समेत सञ्चारकर्मीहरुलाई अनुरोध गरेको छ ।